नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

जेनजी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसद (माननीय) हरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किएर काममा केन्द्रित हुन आग्रह गरेकी छन् ।

बुधबार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले नयाँ जनप्रतिनिधिहरूको पनि अब कार्यकालको गन्ती सुरु भइसकेको स्मरण गराएकी हुन् ।

अभियन्ता बमले नयाँ माननीयहरूलाई विगतको आलोचना मात्र गरेर नबस्न र वर्तमान तथा भविष्यको जिम्मेवारी सम्हाल्न सचेत गराएकी छन् । उनले लेखेकी छन्, ‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईँहरूको पनि गन्ती सुरु भइसकेको छ ।’

उनले देश र विदेशमा रहेका नेपाली नागरिकहरूले नयाँ नेतृत्वबाट ठुलो अपेक्षा राख्दै उनीहरूको कार्यसम्पादनलाई नजिकबाट नियालिरहेको उल्लेख गरेकी छन् । उनका अनुसार घरबारविहीन सुकुम्बासी, भूमिहीन नागरिक, बेरोजगार युवा तथा खाडी मुलुकमा पसिना बगाइरहेका नेपालीहरूले नयाँ जनप्रतिनिधिहरूको दिन गनिरहेका छन् ।

राज्य सञ्चालन र नीति निर्माणको बागडोर (डाडुपन्यु) अब नयाँ माननीयहरूकै हातमा आइपुगेको भन्दै बमले अर्को निर्वाचनसम्म उनीहरूको पनि पाँच वर्ष पूरा भइसक्ने तर्फ ध्यानाकर्षण गराएकी छन् । उनले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुन जोड दिँदै थपेकी छन्, ‘तपाईँहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन्, र हिसाब पनि राखिरहेका छन् ।