बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ

बीमा रकम दाबी गर्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलासा भएपछि बुटवलमा एक पसलका सञ्चालकसहित कर्मचारी पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिक र कर्मचारी तिलोत्तमा नगरपालिका– वनवाटिकाका नवीन बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार सञ्चालक विकले गत जेठ १७ गते बिहान आफ्नो पसलबाट १ करोड ४६ लाख १४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको भन्दै उजुरी दिएका थिए।

उजुरीमा उनले आफू पोखरामा रहेको बेला चोरी भएको र पसलको सिसिटिभी क्यामेरा समेत बिग्रिएको दाबी गरेका थिए। तर विस्तृत अनुसन्धानपछि उक्त घटना वास्तविक चोरी नभई योजनाबद्ध रूपमा रचिएको नाटक भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार बीमा रकम दाबी गर्ने तथा पसलमा रहेका सुनचाँदीका गहना र नगदको जिम्मेवारीबाट उम्किनका लागि सञ्चालक र कर्मचारी मिलेर झुटो चोरीको घटना सिर्जना गरिएको पाइएको हो।

४० वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा रातको समयमा च्यानल गेटको ताला खोलेर चोरी भएको देखाउने प्रयास गरिएको थियो। साथै लकर खोल्न विभिन्न चाबी प्रयोग गरिएको जस्तो नाटकसमेत गरिएको अनुसन्धानमा खुलेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरी आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।