राष्ट्रिय हितविपरीतको अभिव्यक्ति सच्याउन किन ढिला गरिरहेका छन् बालेन ?

नेपालको प्रधानमन्त्रीजस्तो संवेदनशील पदमा बसेको व्यक्तिले राष्ट्रको शिर निहुराउने काम गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा उभिएर नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनु राष्ट्रिय अखण्डताप्रति गम्भीर आघात हो । यो विषय सीमासम्बन्धी नेपालको अडानलाई कमजोर बनाउने षड्यन्त्रजस्तै लागेको छ ।

स्मरणीय तथ्य के छ भने नेपालविरुद्ध सीमा मिचेको आरोप भारतले पनि आधिकारिक रूपमा कहिल्यै लगाएको छैन । सीमा विवादका सम्बन्धमा केही स्थानमा दुई पक्षबीच सहमति भइसकेको छ भने कालापानी, लिम्पियाधुरा, सुस्ताजस्ता क्षेत्रमा विवाद कायमै छ । त्यहाँ नेपालको भूमिमा भारतीय पक्षको अतिक्रमण रहेको स्थानीय नागरिकले पटकपटक उजागर गरिसकेका छन् र नेपाल सरकारले अनवरत आफ्नो अडान यथावत् कायम राखेको छ । तर, भारतले कहिल्यै ‘नेपालले भारतको सीमा मिचेको’ आरोप लगाएको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री आफैँले संसदको रेकर्डमा नेपालले सीमा मिचेको बताउनु कसैको भ्रामक सूचनाको परिणाम हो अथवा सुविचारित कार्य, त्यो प्रश्न गम्भीर छ ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति तत्कालै त्यही रातभरिमै फिर्ता भइसक्नुपर्ने हो । यदि उनले यो अभिव्यक्ति सुविचारित रूपमा दिएको होइन भने तत्काल माफी मागेर संसदको रेकर्डबाट हटाइदिन आफैँ अनुरोध गर्नुपर्ने हो । तर उनले त्यो मनसाय देखाएका छैनन् । बरु, उनले आफ्नो अभिव्यक्तिको औचित्य साबित गर्न समर्थकहरू परिचालन गरेका छन् । एकातिर सडक, सदन र सामाजिक सञ्जालमा उक्त अभिव्यक्तिको व्यापक विरोध भइरहेको छ, अर्कोतिर उक्त विवादित अभिव्यक्तिको बचाउमा समर्थक परिचालनले सीमाको संवेदनशील विषयलाई झन् जटिल बनाइदिएको छ ।

नेपालले दसगजा क्षेत्रसमेतमा कहीँ अतिक्रमण गरेको छैन । दसगजा दुई देशबीचको खाली जमिन हो जहाँ दुवै पक्षले उपभोग वा निर्माण गर्न पाउँदैनन् । आजसम्म भारतले पनि नेपालले दसगजा अतिक्रमण गरेको आरोप लगाएको छैन । अर्थात् सीमा क्षेत्रका मामिलामा नेपाल चोखो छ भने भारत अतिक्रमणकारी नै हो । यस्तोमा प्रधानमन्त्रीलाई ‘नेपालले सीमा मिचेको’ गलत सूचना कसले दियो ? त्यसको खोजी हुनुपर्छ । सरकारको कुनै जिम्मेवार कर्मचारी यस्तो राष्ट्रघाती कर्ममा संलग्न भए तत्काल कारबाही हुनुपर्छ । सीमाको मामिलामा योभन्दा ठूलो देशद्रोह अरू केही हुन सक्दैन ।

नेपाली जनताले दिएको दुई तिहाइको अपार समर्थनसहितको सरकार भएका बेला अर्को देशसँग वार्ता गर्दा शिर ठाडो पारेर ढुक्कसँग ऐतिहासिक तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुनुपर्ने हो । तर बालेनले आन्तरिक रूपमा कमजोर र विवादित अभिव्यक्ति दिएर स्वाभिमानी नेपाली जनतालाई गहिरो निराशा दिएका छन् । सीमाको विषय सडकमा छलफल गरिने वा पक्ष–विपक्षमा बाँडिने विषय होइन । यो त वार्ताको टेबुलमा समाधान हुने कुरा हो । हामी जति यस विषयमा बाँडिन्छौँ, उति नै कमजोर बन्दै जान्छौँ ।

कतिपय मानवीय कमजोरीले पनि यस्ता अभिव्यक्तिमा सार्वजनिक पदाधिकारी चुक्छन्, चिप्लिन्छन् । तर विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेरी क्षति न्यूनीकरण गर्न सकिन्छ । सच्याउँदै अघि बढन् सकिन्छ । राष्ट्रको हितका लागि आफू तल पर्नुपरे पनि वा मूल्य चुकाउनुपरे पनि तयार हुनुपर्छ । देशको सिमाना रक्षाका लागि नालापानीमा हाम्रा पुर्खाले पानी पनि नखाई ब्रिटिसहरुका आधुनिक हतियारसँग ढुंगामुढा तथा खुकुरी-भाला लिएर लडेको गौरवपूर्ण इतिहास हामीसँग छ । सहिद गोविन्द गौतमहरु सीमारक्षाका लागि लड्दालड्दै ज्यानको आहुति दिनुपरेको पनि धेरै भएको छैन । 
  
प्रधानमन्त्री बालेनले राष्ट्रहितविपरीतको आफ्नो अभिव्यक्तिलाई नै हठ र प्रतिष्ठाको विषय बनाउने गरे भने त्यो आत्मघाती र देशघाती सोचको पराकाष्ठा हो । यो अभिव्यक्ति सच्याउन जति ढिलाइ गर्छौँ, त्यति नै धेरै गुमाउँदै जान्छौँ । यदि उनले यो अभिव्यक्ति सच्याएनन् भने यो सुविचारित रूपमा बोलेको र कुनै शक्तिको स्वार्थ तथा इशारामा लागेको प्रमाणित हुनेछ । बालेनको अभिव्यक्तिको समर्थनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उत्रिँदा नै धेरै नेपालीको मनमा चिसो पसिसकेको छ । 

स्वाभिमानी नेपाली जनताले यसलाई कुनै हालतमा स्वीकार गर्ने छैनन् ।
सीमा राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो । यो व्यक्ति वा दलको राजनीतिक स्वार्थभन्दा माथि रहने अमूल्य सम्पत्ति हो । अझै प्रधानमन्त्रीले आफ्नो गल्ती सुधार्न ढिलाइ नगरुन् । नेपालको राष्ट्रिय अखण्डता र जनताको स्वाभिमानको शिर सधैँ माथि रहने ठाउँ बालेनले राख्नुपर्छ । अझ रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा निस्कने बेलामा बालेनले किन यो अभिव्यक्ति दिए भन्ने थप शंकास्पद छ । यदि रविको दिल्ली दौडबाट बालेन तर्सिएका हुन् र रवि दिल्ली नपुग्दै दिल्लीको प्यारो बन्न बालेनले यो अस्त्र फ्याँकेका हुन् भने त्यो अर्को दुर्भाग्यपूर्ण कदम हो । त्यस्तो नहोस् ।