संसद् नियमावलीविरूद्ध कानुनी उपचारबारे आन्तरिक छलफलमा नेकपा

 विपक्षी दलहरूको विरोधकाबिच आइतबार प्रतिनिधि सभा बैठकबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावली, २०८३’ विरूद्ध निर्णय गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अनौपचारिक बैठक बोलाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा साेमबार बस्ने अनौपचारिक बैठकले नियमावलीविरुद्ध कानुनी उपचार खोज्ने वा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने नेकपाका सांसद गोपाल शर्माले जानकारी दिए। 

‘संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन । संविधानसँग बाँझिएको विषयमा कानुनी प्रश्न उठ्छ नै । संविधान र कानुन मिचेर हिजो सभामुखले जसरी संसद्को नियमावली पारित गर्नुभयो, त्यो बेठिक छ । यसबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ’, शर्माले रातोपाटीसँग भने।

यसै विषयलाई लिएर सोमबार बसेको प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले पटक–पटक अवरोध गरेका थिए। विपक्षी दलहरूको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले भोलि बस्ने गरी बैठक स्थगित गरेका छन्।