सरकारले आगामी आर्थिक वर्षको बजेट आयो २१ खर्बको, चर्चा बालेनले लगाएको सेतो जुत्ताको !

 सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्‍यो । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा बजेट प्रस्तुत गरिरहँदा संसद् भवनमा बजेटको अंक र कार्यक्रमभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको ‘सेतो जुत्ता’ले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।

शुक्रबार बजेट भाषणको दिन अन्य केही सांसदभन्दा केही ढिलो संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री शाहले बजेट भाषणको सम्पूर्ण समय निकै ध्यानपूर्वक सुने । भाषण सकिएपछि उनले त्यहाँ उपस्थित सांसदहरूसँग शिष्टाचार भेटघाट तथा हात मिलाउने क्रममा स्वदेशी ब्रान्डको जुत्ता प्रदर्शन गरेपछि माहोल फरक बन्यो । 

सांसद तथा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणासँग हात मिलाउने क्रममा प्रधानमन्त्री शाहले आफूले लगाएको गोल्डस्टार जुत्ता देखाएका थिए । सोही क्षणको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

प्रधानमन्त्री भएयता शाहले सेतो जुत्तालाई आफ्नो पहिचानको रूपमा अघि बढाउँदै आएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि उनले सेतो जुत्ता नै लगाएका थिए । नेपाली उत्पादनलाई प्राथमिकता दिने उनको यो तरिकामा धेरैले समर्थन गरिरहेका छन् । कतिपयले भने विषयान्तर स्टन्टबाजीसमेत भनेका छन् । 

यसबारे सांसद विदुषी राणाले भनिन्, ‘संसद्बाट बाहिर निस्कने क्रममा बालेनजीले मलाई आफ्नो जुत्ता देखाउनुभयो, उहाँले नेपाली ब्रान्ड गोल्डस्टार लगाउनुभएको रहेछ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उहाँको यो कदम निकै सकारात्मक छ ।’ 

उनले आफूहरूले गोल्डस्टारलाई फरक शैलीमा ब्रान्डिङ गरिरहेको बताउँदै प्रधानमन्त्रीको साथले यसलाई थप हौसला मिलेको उल्लेख गरिन् ।

प्रधानमन्त्री शाहको कुनै पनि गतिविधिले सामाजिक सञ्जालमा निकै छिट्टो प्रभाव पार्ने गरेको देखिएको छ । केही दिनअघि मात्रै उनले दुग्ध विकास संस्थान (डीडीसी) को ‘याक चिज’ खाएको एआई निर्मित तस्बिर सार्वजनिक गरेका थिए । उक्त तस्बिर यति चर्चित भयो कि बजारमा डीडीसीको याक चिजको माग ह्वात्तै बढ्यो र कतिपय स्थानमा सर्टेजसमेत भएको समाचारहरू बाहिरिएका थिए ।

अहिले बजेटको गम्भीर कार्यक्रममा पनि आफ्नो पोसाकमार्फत स्वदेशी ब्रान्डको चर्चा गराउन उनी सफल भएको देखिएको छ । जसलाई धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘बालेन इफेक्ट’ मानेका छन् ।