आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

 सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आय–व्ययको अनुमान प्रस्तुत गर्दै उक्त आकारको बजेट सार्वजनिक गरेका हुन्।

बजेटअनुसार चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

बजेट खर्च व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना छ।

यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।

चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए। 

यसमा चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको थियो। 

तर ०८२ भदौको जेनजी प्रदर्शनपछि उक्त बजेट कार्यान्वयन भने सुशीला कार्की नेतृत्वमा बनेको सरकारले गरेको थियो। कार्की सरकारका अर्थमन्त्री रामेश्वर खनालले उक्त बजेट पूरै खर्च नहुने अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान गरेको थियो।  

अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान छ। यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ। 

आर्थिक वृद्धि ७ प्रतिशतको लक्ष्य, मुद्रास्फीति ६ प्रतिशतभन्दा कम राख्ने घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने तथ्यांक कार्यालयले जनाएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर (मुद्रास्फीति) ६ प्रतिशतभन्दा कम राख्ने लक्ष्य पनि सरकारले लिएको छ।

 

null