प्रदेशसभा बैठकमा दुई विधेयकमाथिको सैद्धान्तिक छलफल
लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिएको छ । प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आज दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेतमन्त्री तिमिल्सिनाले दिनुभयो । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिनुभएको थियो ।
यसैगरी स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्नुभयो ।
त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सभामा पेस गर्नुभयो ।
आजको बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ ।
लुम्बिनीकाे नीति तथा कार्यक्रम: मन्त्रालयको संख्या घटाउनेदेखि ‘अधुरा: गर पूरा’…
लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम
लुम्बिनी प्रदेश सरकारद्वारा खर्चमा मितव्ययिता अपनाउन निर्देशन
लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
प्रतिक्रिया