आजदेखि पुस ५ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ, २६ मङ्सिरः  काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ । 

विद्युत प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ। त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ भने भोलि (बिहीबार) मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुने भएको छ ।

यस्तै, शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको हो ।