रोयल क्यासिनोका सञ्चालक सिंहसमेत पाँचै जनालाई सम्पत्ति शुद्धिकरणमा सफाइ

काठमाडौं १३ वैशाख, ।होटेल याक एन्ड यति परिसरमा सञ्चालित रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहसमेत पाँच जनाले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाएका छन् । गिल्ट इन्भेस्टमेन्ट प्रालिका सञ्चालकसमेत रहेका सिंहविरुद्ध १५ कात्तिक २०७९ मा मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सिंह तथा शारदा देवी सिंह, जीवन बहादुर सिंह, जयन्ती थापा र गिल्ट इन्भेस्टमेन्ट प्रालिविरुद्ध मुद्दा दायर गरेको थियो । यी पाँचै जना प्रतिवादीले बिहीबार सफाइ पाएका छन् । 

थापा उक्त क्यासिनोमा सुपरभाइजरका रुपमा कार्यरत थिइन् । विभागले सिंहमाथि छानबिन गरिरहेको सुइँको पाएपछि आफ्नो सम्पत्ति थापाका नाममा विक्रि गरेको विभागको अनुसन्धानले देखाएको थियो । जसपछि उक्त क्यासिनो खरिदको स्रोत देखाउन भन्दै थापाविरुद्ध विभागमा उजुरी परेको थियो । 

क्यासिनो सञ्चालन गरिरहेको गिल्ट इन्भेस्टमेन्टले कर चुक्ता नै नगरी थापाका नाममा नामसारी भएको कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेख थियो । रोयल क्यासिनोको राजस्व नतिरेको विषय हाल पनि न्यायालयमै विचाराधीन छ । 

गत फागुन १४ देखि नै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको थियो । उक्त मितिमा बहस नोट पेस गर्ने आदेश भएको थियो भने तीन वटा पेसीमा यसलाई न्यायाधीशहरुले हेर्दाहेर्दैमा राखेका थिए । गत १८ चैतमा अन्य आदेश भएको थियो भने बिहीबार सफाइ दिइएको हो । 

सिंहसमेतले भारतीय रुपैयाँ, अमेरिकी डलरको अवैध कारोबार गरेको, जुवासम्बन्धी कसूर गरेको र यी यस्ता अपराधबाट आर्जित सम्पत्ति शुद्धिकरण गरेको अभियोग विभागले लगाएको थियो । उनसिमेतले २७ करोड ६७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाएको थियो ।