गठबन्धनमा माधव नेपालले निहुँ खोजेपछि सुदूरपश्चिम सरकार गुमाउने अवस्थामा एकीकृत समाजवादी

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीसँग केन्द्रमा १० सांसद मात्र छन्। राष्ट्रिय दल पनि होइन। तर, अध्यक्ष माधवकुमार नेपाल भने कांग्रेसले प्रधानमन्त्री बनाउने भयो भनेर खुट्टा उचालेर बसेका छन्। उनलाई साथ दिइरहेका छन् उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरुले। तर, नेपाल प्रधानमत्री हुने त छाँट छैन । बरु प्रदेश सरकार गुमाउने स्थितिमा पुगेका छन्।

जहिले पनि जता पनि निहुँ खोज्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नेपाललाई अर्काे बाबुराम भट्टराई बनाउने तयारी गरेका छन्। अर्काे बाबुराम किन भने नि माओवादीमा छँदा बाबुराम पनि यसरी नै निहुँ खोजिरहन्थे। जब माओवादी छाडे अनि उनको ओरालो यात्रा सुरु भयो। नयाँ नयाँ दल बनाउँदै हिँडेका बाबुराम अहिले नेपालका कुनै पनि निर्वाचन क्षेत्रबाट पार्टीको बलमा जित्न नसक्ने स्थितिमा पुगेका छन्।

माधवलाई अर्काे बाबुराम बनाउन अघि एमाले र माओवादीले एकीकृत समाजवादीलाई सुदूरपश्चिम सरकारको नेतृत्वबाट हटाउन खोजेका छन्।  सुदूरपश्चिममा एकीकृत समाजवादीका चार मात्र सांसद छन्। तर पनि गठबन्धनका हिसावले एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए। सोडारीले पनि माधव शैलीमै निहुँ खोजेपछि एमाले र माओवादीका सुदूरपश्चिमका नेताहरु रुष्ट छन्। सरसल्लाह नै नगरी सोडारीले शुक्रबार विश्वासको मत लिन खोजेका थिए। तर, एमालेले विश्वासको मत नदिने चेतावनी दिएपछि उनी रोकिएका छन्। 

हुुन त सोडारी एमालेको रुचिले मुख्यमन्त्री बनेका होइनन् । माधवले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग माग्न थालेपछि बाध्य भएर मात्र एमालेले उनलाई मुख्यमन्त्रीमा सघाएको हो । एकीकृत समाजवादीले विश्वासको मत लिन पनि उनले सोही रणनीति लिएपछि एमाले झस्किएको हो। अझ ७ सिट रहेको नागरिक उन्मुक्ति फेरि मत दिने र नदिनेबारेमा विभाजन भएको छ, यसको असर पनि मुख्यमन्त्री सोडारीलाई परेको छ। रेशम चौधरी समूहले उनको विपक्षमा भोट दिन ह्वीप जारी गरेको थियो भने अध्यक्ष रञ्जिता श्रेष्ठ समूहले भोट हाल्न भनेको थियो। 

यो अवस्थामा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना छैन। विश्वासको मत नपाए सरकार ढल्ने भएपछि उनी फेरि एमालेको सहयोग माग्ने स्थितिमा पुगेका छन्।  एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले एकीकृत समाजवादीले धोका दिएकाले उसलाई विश्वासको मत दिन गाह्रो भएको बताइसकेका छन्। उनले भनेका छन्, ‘एमालेले जित्दा प्रदेशसभामा मुख्यमन्त्रीलाई नै सजिलो हुने स्थिति हो । तर, उहाँहरू एमालेलाई सघाउनेभन्दा कांग्रेस जिताउन लाग्नुभयो । त्यसैले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेमा चर्को दबाब छ।’ 

शुक्रबारको बैठक स्थगित गरी शनिबार साँझ साढे ५ बजे बोलाइएको छ । तर, शनिबार पनि विश्वासको मत पाउने सम्भावना छैन, फेरि बैठक स्थगित हुने सम्भावना छ। ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई विश्वासको मत लिन ५ जेठसम्मको समय छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छन् । यहाँ एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादीका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।