रवि लामिछाने भर्सेस कैलाश सिरोहिया, कसले जित्ला युद्ध ?

अहिले देशमा नेपालको सबैभन्दा ठूलो मिडिया कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया र सञ्चार पृष्ठभूमिबाटै राजनीतिमा गएका रवि लामिछाने आमनेसामने भएका छन् । खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मुख्य सत्रु नै कैलाश सिरोहियाजसरी युद्धको शंखघोष गरेका छन् ।

रविले सिरोहिया परिवार र कान्तिपुरविरुद्ध विषवमन गर्न थालेको आज होइन । पहिलोपल्ट गृहमन्त्री भएर केही दिनमै सत्ता छाड्नुपरेपछि उनको आक्रोशको ज्वाला सम्पूर्ण मिडियाविरुद्ध पोखिएको थियो । उनले कान्तिपुर लगायतका मिडियालाई १२ भाइको संज्ञा दिएनन् कि, कैलाशका छोरा सम्भवलाई आरोपित गरेनन् कि ? 

उनको त्यस दिनको प्रस्तुतिले रविका समर्थकहरुले हुबहु टिपे । कान्तिविरोधी अभियान चलाए । अनफलो सुरु गर्न थाले । अहिले सत्तामा आएपछि रविले फेरि कान्तिपुरविरुद्ध फायर खोलेका छन् । रविले विभिन्न मोर्चा त्यसका लागि परिचालन गरेका छन् ।

रविनिटक युट्युब च्यानल सिधाकुराले कैलाश सिरोहियाले घुस मुद्दालाई प्रभावित पार्ने गरी अन्नपूर्ण टावरको एक गोप्य बैठकमा सहभागिता जनाएको अपुष्ट सामग्री प्रसारण गरेपछि यो द्वन्द्व नयाँ उत्कर्षमा पुगेको छ । उक्त सामग्रीमा अदालतका न्यायाधीशलाई पनि मुछ्न खोजिएपछि अदालतले समेत कठोर कदम चालेको छ र सिधाकुरा टिमविरुद्ध फौजदारी प्रकृतिको अवहेलना मुद्दाको प्रक्रिया अघि बढाएको छ ।

अर्कोतिर रवि गृहमन्त्री नै रहेका बेला उनीमातहतको एउटा प्रहरी एकाईले कैलाश सिरोहियाको नागरिकतामाथि छानबिन भइरहेको भनी हल्ला चलाइदिएको छ । यसमा समाचार र सत्यता कति छ, त्यो छानबिनले नै देखाउला । तर, समय यस्तो परेको छ कि यो छानबिनको हल्लाका पछाडि रविको निहित स्वार्थ छ भन्ने देखाइरहेको छ ।

कुनै पनि व्यक्तिमाथि छानबिन हुँदा त्यो निष्पक्ष मात्र होइन, स्वच्छ पनि हुनु आवश्यक छ । कसैको दबाब वा निर्देशनमा हुने छानबिनलाई स्वस्थ र स्वच्छ मान्न सकिन्न । प्रवृत्त भावना लिएर वा सत्ता एवं शक्तिमा हुनेहरुले निहित स्वार्थ वा प्रतिशोधको साधन बनाउन खोजेको हो भने त्यो न्यायसंगत हुन सक्दैन । 

कैलाश सिरोहिया नेपाली व्यावसायिक पत्रकारिताका पायोनियर  हुन् । उनले सयौँ होइन, हजारौँ नेपालीलाई रोजगारी दिएका छन् । उनको व्यावसायिक प्रतिष्ठानले ठूलो कर तिरेको छ । मुलुकको लोकतन्त्र र राष्ट्रियतामाथि कुनै पनि कोणबाट खतराको संकेत पाउँदा आफ्नो व्यवसायलाई जोखिममा राखेर देश र जनताको पक्षमा उभिने आँट देखाएका छन् । 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन होस् या माओवादीले निशाना बनाउँदा । भारतीय राजदूत राकेश सुदले खबरकागज आयात कलकत्ता बन्दरगाहमै रोकिदिएर होस् कि ८ वटा भारतीय बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा नाकाबन्दी लगाउँदा होस् । लोकमानसिंह कार्कीको स्वेच्छाचारिता होस् कि गोपाल पराजुलीको शर्मानाक नग्न नृत्य । ती कुनै पनि कालखण्डमा कान्तिपुरले आफ्नो अस्तित्वको लडाइँ लडेको हो । र, ती प्रत्येक लडाइँमा कान्तिपुर जितेको छ । कैलाश सिरोहियाको अडानले जितेको छ । ती प्रत्येक कठिन घडीमा कान्तिपुरलाई जनताले साथ दिएका छन् । जनताकै साथ र समर्थनका कारण शक्ति र सत्ता पराजित भएको छ ।   

रवि लामिछाने अहिले सत्तामा छन् । उनी गृह मन्त्रालय सम्हालेर बसेका छन् । उनीसँग देशको ढुकुटी हातमा होला । प्रहरी र प्रशासन हातमा होला । उनले चाहेमा मन्त्रिपरिषद्बाट निर्णय गराउन सक्छन् । सत्ता गठबन्धनको तागतमा संसदबाटै पनि कानुन बनाउन सक्छन् । कैलाश सिरोहियाका विरुद्धमा प्रहरी परिचालन गर्न सक्छन् । केही दिन थुन्न पनि सक्छन् । तर, उनले के भुल्नुहुँदैन भने उनी सधैँ त्यही सत्ता र शक्तिमा रहने छैनन् । भोलि कुनै दिन कैलाश सिरोहिया र रवि लामिछानेले टेक्ने भुईँ एउटै हुनेछ । त्यस दिन पनि कैलाशसँग आँखा जुधाएर शिर ठाडो पारेर हेर्ने तागत रविले राख्नुपर्छ । 

कैलाश सिरोहिया एक व्यवसायी हुन् । मिडिया क्षेत्रमै पनि तुलनात्मक रुपमा उनले उच्च व्यावसायिकता निभाएका छन् । पछिल्लो कालखण्डमा पत्रकारहरुको उचित पारिश्रमिक र सामाजिक सुरक्षा दिन नसक्नु उनको निजी नियत मात्र कति दोषी छ थाहा छैन । तर समग्र बजारको अवस्था र सञ्चार उद्यममा आएको मन्दीको असर पनि हुन सक्ला । यसबाहेक सिरोहियाका हकमा प्रश्न उठाउने ठाउँ सायदै होलान् । 

सिरोहियाको नागरिकतामा प्रश्न उठाएर रविले छानबिन गर्न लगाएका छन् । उनले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो नागरिकता प्रणाली व्यवस्थित भएको कति भयो ? व्यवस्थित नागरिकता पाउन थालेको कति भयो ? पहिलाको हाते कागजमा दिने नागरिकता कति दिन टिक्थयो ? त्यसको लगत व्यवस्थापन कति चुस्त थियो ?

अनि प्रतिलिपि लिएपछि मात्र विवरण दुरुस्त हुन थालेको र यस क्रममा कतिपय पुराना अस्पष्ट विवरण थप्ने र अनावश्यक हटाउने चलन स्थापित भएकोतर्फ पनि उनी कति जानकार छन् ? अमेरिका बसेर आएका उनले नेपालको अवस्था बिर्सनु कुनै अनौठो पनि होइन । तर, नेपालमै बसेका उनका सहयोगीहरुले पनि उनलाई सम्झाइदिनुपर्ने हो कि सिरोहियाले नागरिकता दुरुपयोग गरेर देशलाई के हानि गरेका छन्, मुख्य कुरा त्यो हुनुपर्छ । 

उनले के त्यस्तो अपराध गरे र विगतको परिचय लुकाउनुपर्छ ? उनले के आफ्नो उमेर तथा अन्य विवरण ढाँटेर सरकारी पद वा ओहोदा लिए ? यदि अर्को जघन्य अपराधमा उनी मुछिएका छैनन् भने नागरिकताको हिज्जेमा निहुँ खोजेर बस्ने हो राज्यले ? के देशको प्रशासन र प्रहरी संयन्त्रको अरु कुनै काम छैन ? देशको उपप्रधान तथा गृहमन्त्रीले गर्ने कुनै काम छैन ? हाम्रो राष्ट्रिय प्राथमिकता आज कैलाश सिरोहिया नामका एक व्यवासायी नागरिकताको हिज्जे विवरण मिलेको छ कि छैन भनेर खोज्ने हुनुपर्ने हो कि अरु तमाम समस्या पनि छन् ? नयाँ र युवा भनिएका नेताहरुसँग हाम्रो अपेक्षा यही हो त ?