उपनिर्वाचनको नतिजाले समाप्त गर्‍यो माधव नेपालको चुरिफुरी, इलाम र बझाङ दुबै ठाउँमा जमानत जफत

कांग्रेस र माओवादीको बुईँ चढेर ०७९ मा बल्लतल्ल १० सिट ल्याएको एकीकृत समाजवादी डेढ वर्षदेखि सरकारमै छ। दुईपटक गठबन्धन फेरिँदा एकीकृत समाजवादीका सांसदहरु आलोपालो गरेर मन्त्री बनिरहेका छन्। राष्ट्रिय दलसमेत बनाउन नसकेका माधवकुमार नेपालको चुरिफुरि बढेकोबढ्यै थियो। कांग्रेसले प्रधानमन्त्री बनाउने भयो भनेर उनी बुरुक्बुरुक्क उफ्रिरहेका छन्। राष्ट्रिय दल बन्न नसकेको दलले प्रधानमन्त्रीको दाबी मात्र होइन, चार सिट रहेको सुदूपश्चिममा मुख्यमन्त्री नै पाएको छ। 

तै पनि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घुर्की लगाउँदै आएका थिए।

प्रतिनिधिसभातर्फ इलाम २ र प्रदेशसभातर्फ बझाङ (१)मा उपनिर्वाचन हुने भएपछि नेपालले निकै बार्गेनिङ गरे। कांग्रेसको भोटबाट बझाङमा भानुभक्ता जोशीले जितेका  थिए, उनी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन्। यही जित देखाएर नेपाल र एकीकृत समाजवादीका नेताहरुले बझाङमा संगठन राम्रो भएकाले गठबन्धनबाट टिकट आफूहरुले पाउनुपर्ने अडान राखे। ओली टसमस नभएपछि रिसले चुर भएका नेपालले बझाङ मात्र होइन इलाममा पनि आफ्ना उम्मेदवार उठाए।

तर, एकीकृत समाजवादी आफ्नै बेलमा लड्दा देशका कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसक्ने रहेछ भन्ने पुष्टि बझाङ र इलामको नतिजाले गरिदिएको छ।

बझाङमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहको जमानत जफत भएको छ। एमालेका दमनबहादुर भण्डारी ११ हजार ६ सय १३ मतसहित विजयी हुँदा  चौथो बनेका सिंहले २ हजार ५१४ मत मात्र पाए। अझ योभन्दा बढी हरिविजोग इलाममा भएको छ। 

इलाम एकीकृत समाजवादीका नेता झलनाथ खनालको हो। उनी इलाममा आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका थिए। तर, झन्डै ६० हजार भोट खसेको इलाममा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले पाँच सय मत समेत पु¥याउन सकेनन्। एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तरले विजयी हुँदा कांग्रेस मुख्य प्रतिस्पर्धी बन्यो। बरु स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत पाए। तर, एकीकृत समाजवादीको कन्तविजोग मात्र भएको छैन, माधव नेपालको चुरिफुरि पनि सेलाएको छ।