माधव नेपालको चुरीफुरीले ओली आजित, सबै साना दल बाहिर राखेर कांग्रेससँग गठबन्धनको गृहकार्य

काठमाडाैँ। अहिले संघीय सरकारमा ३२ सिटको माओवादी सरकारमा छ । त्यही माओवादी ८० देखि ९० सिटका कांग्रेस र एमालेलाई खेलाइरहेको छ । यतिसम्म त ठीकै थियो ।

मान्यताप्राप्त पार्टीसमेत नभएका माधव नेपालसमेत प्रधानमन्त्री बन्ने लोभमा पाइलैपिच्छे सरकार ढालिदिने धम्की दिँदै हिँडेका छन् । प्रदेशहरुमा साना दलको धम्की खपिनसक्नु छ । सबै प्रदेशमा गतिरोध छ । 

यो अवस्थाले कांग्रेस र एमालेलाई संवाद गर्न बाध्य तुल्याउँदै छ । यी दुई दल मिलेपछि बाँकी सबै साना दल बाहिर बस्नुपर्नेछ । उनीहरुको बार्गेनिङ पावर शून्यमा झर्नेछ । राज्य स्थायित्वतिर अघि बढ्नेछ । बाह्य शक्तिहरुको प्रभाव कम हुनेछ । दीर्घकालीन राष्ट्रहितका निर्णय गर्न सकिनेछ । संविधान जारी गर्दा कांग्रेस र एमाले मिल्दा मात्र सम्भव भयो ।

नक्साको निर्णय गर्न पनि यी दुई शक्ति एक ठाउँमा उभिएपछि मात्र सम्भव भयो । तसर्थ अब देशको गाईजात्रा अन्त्य गर्न यी दुई शक्ति एक ठाउँमा उभिनैपर्ने भयो भन्ने कुराको बोध एमाले र कांग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई समेत भएको छ ।

यही कारण फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिनामै नयाँ समीकरणका लागि कसरत समेत सुरु भएको छ । यो प्रयास सफल भएमा आगामी बजेट आसपास नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने सम्भावना देखिएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्छ । अहिलेको समीकरणमा बजेट पास गराउन सकिन्छ कि सकिँदैन भन्ने आशंका व्यापक छ ।

प्रधानमन्त्री प्रचण्डको आत्मविश्वास पूरै गिरेको छ । माधव नेपालको चुरीफुरीले सबै सत्तासाझेदार हैरान भएका छन् । त्यसैले यो समीकरण धेरै नटिक्ने विश्लेषण गठबन्धनका साझेदारहरुबीचमै हुन थालेको छ । 

एमाले अध्यक्ष ओली सकेसम्म प्रचण्ड नेतृत्वको यही सरकार टिकाउने र आउँदो चुनावसम्मै सहकार्य गरेर जाने सोचमा थिए । तर दोस्रो तहका एमाले नेताहरु कांग्रेसँग सहकार्य गर्नुपर्ने भन्दै व्यापक संवादमा छन् । ठोस सहमति वा गृहकार्यले मूर्तरुप लिएपछि ओली र देउवाबीच सहमति गराउने उनीहरुको प्रयास छ । कांग्रेसका पनि दोस्रो तहका नेताहरु यस गृहकार्यमा लागेका छन् । अहिले ओली र देउवाबीच तीतोपना मेटाउने प्रयासहरुमा दोस्रो तहका नेताहरु लागेका छन् । 

रवि लामिछानेमाथि ढिलोचाँडो छानबिन हुने निष्कर्ष एमाले र कांग्रेसले निकालेका छन् । उनीमाथिको छानबिनको विषयले पनि यो सरकारलाई कमजोर बनाएको छ । प्रदेशहरुमा साना दलको चुरीफुरीले हद नाघकेको छ । त्यसकारण पनि कांग्रेस एमाले मिल्नुपर्ने भएको छ । गोदावरीमा एमालेले आयोजना गरेको कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सवमा पनि देउवा र ओलीबीच हार्दिकता बढी देखियो भने प्रचण्ड र ओलीबीच आशंका बढी प्रकट  भयो ।

त्यही कारण प्रचण्डले बारम्बार ओलीप्रति म विश्वास गर्न चाहन्छु भनिरहे । राजनीतिका चतुर खेलाडी प्रचण्डले ओली र देउवाको संकेत नबुझ्ने कुरै भएन । केही दिनअघि झलनाथ खनालसँगको कुराकानीमा पनि उनले कांग्रेस र एमाले सघन संवादमा रहेकाले सत्ता सहकार्यमा जान सक्ने संकेत गरेका थिए । त्यो अवस्था आए आफू प्रतिपक्षमा जानुपर्ने हुन सक्ने र प्रतिपक्षमा बस्दा पनि माओवादी र एकीकृत समाजवादी सँगै हुनुपर्ने प्रचण्डको भनाइ थियो । 

हालको गठबन्धन त्यसमा पनि दुई ठूला कम्युनिस्टको सहकार्य आगामी चुनावसम्म जान नदिन कांग्रेस र अरु केही बाह्य शक्तिको पनि जोडबल चलिरहेको छ । एमाले र माओवादी चुनावसम्मै मिले भने कांग्रेस २०७४ को भन्दा पनि निकै कमजोर हुनेछ । फेरि यी दुई दलले दुई तिहाई ल्याउन सक्नेछन् ।

त्यो सम्भावनालाई समाप्त पार्न पनि कांग्रेससामु ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर यो गठबन्धन टुटाउनुपर्ने भएको छ । भोलि चुनावमा जेसुकै होस्, तत्कालका लागि कांग्रेस र एमालेको सहकार्य देशको हितमा छ । राजनीतिक स्थायित्वको पक्षमा छ । त्यससकारण माधव नेपालको चुरीफुरी जति बढ्दै छ, देशका लागि एउटा राम्रो वातावरण बन्दै छ ।