राष्ट्रपतिले उडाएका भूकम्पपीडितका वास र प्रचण्डले टक्टकाएको गणतन्त्रको धुलो

काठमाडौं । सोमबार देशका शीर्षस्थहरूसम्बन्धी दुईवटा घटना चर्चामा रहे । 

एक, राष्ट्रपति रामचन्द्र पौडेलको हेलिकप्टरले जाजरकोटका भूकम्पपीडितका अस्थायी वास नै उडाइदियो । पीडितहरूमा रुवाबासी चल्यो । स्थानीय नगरपालिकाका मेयरले फेसबुकमै लेखे, ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर। संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज।’

त्यसअघि सानीभेरी गाउँपालिका प्रमुखले भनेका थिए, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, मुख्यमन्त्री आउनुभयो, अवलोकन गर्नुभयो, छिटो गर्न निर्देशन दिनुभयो। नीतिगत कुरा गर्नुभयो। तर, यहाँ पाल छैन । कम्मल छैन । चामल छैन ।

जाजरकोटमा भूकम्प जाँदा राष्ट्रपति पौडेल युरोप भ्रमणको तयारी थिए । एउटा एनजीओको कार्यक्रममा १० मिनेट प्रवचन दिने बहाना बनाएर १० दिन युरोपतिर डुल्ने उनको दाउ थियो । त्यसका लागि ३५ जनाको टोली लिएर जाने र कम्तीमा १० करोड रुपैयाँ राज्यकोषबाट उडाउने भएका थिए । देश ठूलो विपत्तिमा हुँदा त्यस खालका भ्रमण गर्न नहुने भनेर सामाजिक सञ्जाल र आमसञ्चारमा टीकाटिप्पणी भएपछि पौडेल त्यो भ्रमण रद्द गर्न पुगेका थिए । 

तर यतिमै रोकिएनन् । उनले जाजरकोट गएर विपद पर्यटनमा सहभागी हुने भीआईपीको लस्करमा उभ्याए । उनका हेलिकप्टरले राहत होइन, आहत मात्र दियो पीडितलाई । अनि राहत कुरेर बसेका नागरिकलाई उनले भने, चिन्ता लिनुपर्दैन । म सरकारसँग कुरा गर्छु ।

यी सारा घटनाक्रममा राष्ट्रपतिले कतै पनि सम्मान र समानुभूति पाएका छैनन् । बरु रेशम चौधरी र रिगलको हातमा लागेको नरहत्याको रगत लत्पतिएका राष्ट्रपतिले जनताको घरदैलोमा जाने नाममा बेसुरको यात्रा गरेर अर्को आरोप र लाञ्छना पाउने बहाना जुराएका छन् । समय, सन्दर्भ र शैली नमिलेपछि अवस्था यस्तो हुन्छ ।

दुई, यता सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल सर्वदलीय बैठकका नाममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बोलाएर राष्ट्रिय सहमतिको धुन बजाए । राजावादीको विरुद्धमा गणतन्त्रवादी एकजुट हुने घोषणा गरे । उनले टक्टकाउँदा गणतन्त्रमा लागेको धुलो टक्टकाएजस्तो गरे, तर गणतन्त्र जोगाउने नाममा उनले आफ्नै सत्ता जोगाउने माहोलको रचना गरे । सत्तामा देखिएको आसन्न संकटविरुद्ध राष्ट्रिय शक्तिहरू एकजुट रहेको देखाउन खोजे ।


प्रचण्डहरुलाई थाहा हुनुपर्ने हो, गणतन्त्र कसैका कारणले संकटमा छ भने स्वयं उनीहरुकै व्यवहारले संकटमा छ । संघीय समावेशी गणतन्त्र आफ्ना परिवारका सदस्य र निकटतम नवधनाढ्यहरुलाई भाग पुगेपछि मात्र अरु कार्यकर्ता र जनताले पाउने व्यवस्थाका नाइकेहरु स्वयं व्यवस्था संकटमा परेको भन्दै डर देखाएर आफ्नो सत्तारक्षामा लागेको आमनागरिकले राम्रोसँग बुझेका छन् । देशको प्रधानमन्त्री आफै, भरतपुरको मेयर आफ्नै छोरी, कोसीको मन्त्री आफ्नै ज्वाइँ, राष्ट्रिय सभा सदस्य आफ्नै भाइ, मन्त्री र सांसद आफ्नै बुहारी हुनुपर्ने गरी गणतन्त्रका नाइकेहरु तानाबाना बुन्छन् । ती कुनै पनि अवसरबाट कुनै एक आफन्त वञ्चित हुन लाग्दा गणतन्त्र खतरामा परेको भन्दै नारा लगाउन थाल्छन् । यसरी टक्टकिँदैमा अब जनता आँखा चिम्लिएर उनीहरुका पछाडि लाग्नेवाला छैनन् । जनमनोविज्ञानभित्र उर्लिएको असन्तोषको ज्वारभाटा कुनै पनि नाममा पोखिनेछ । धैर्यको बाँध फुट्नेछ ।

तसर्थ जाजरकोटमा भूकम्पपीडितका बास उडाउने राष्ट्रपति होऊन् वा सिंहदरबारमा गणतन्त्रको धुलो टक्टकाउने प्रधानमन्त्री, स्वयं यो व्यवस्थाका विरोधी हुन् । उनीहरू नै व्यवस्थामा खतरा पैदा गर्ने तत्व हुन् ।

भूकम्पपीडितका घरमा पाल र कम्मल पुर्‍याएर यो चिसोमा जनतालाई जोगाउने हो भने व्यवस्था आफै जोगिन्छ ।