विपदको रमिता हेर्न भीआईपीको लावालस्कर, चुनावको तयारी कि निजी लोकरिझ्याइँ ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३५ जनाको लावालस्कर लगाएर युरोपका तीनवटा देशमा १० दिनसम्म सयर गर्ने रहर सार्वजनिक आलोचनाका कारण सम्भव भएन ।

विपदका बेला १५ करोड रुपैयाँ खर्चेर बिनाकामको घुमघाममा जान लागेको भन्दै निकै ठूलो आलोचना भएपछि राष्ट्रपतिको भ्रमण रोकिएको हो तर उनी यतिमै रोकिएनन् । युरोपको घुमघाम रोकेर जाजरकोट जाने निर्णय सोमबार एकसाथ गरे । 

जाजरकोट र रुकुम अहिले शोकाकुल छ । गाउँका गाउँ तहसनहस भएका छन् । परिवारै सखाप भएका छन् । साना नानीहरु टुहुरा छन् । वयोवृद्ध बुवाआमाको कमाएर खुवाउने सहारा खोसिएको छ । अन्नपात सबै माटोमा मिसिएको छ । बस्नका लागि एक बित्ता ओत छैन । यो चिसोमा कहाँ गएर रात काट्ने ? सबै सुकुमवासीजस्तै भएपछि छिमेकमा गएर केही रात र केही छाक काटौँ भन्ने अवस्था छैन । बाँच्नेहरुमध्ये सबैको हालत उही र उस्तै छ ।  

यो अवस्थामा सरकारका तर्फबाट राहत पुग्न सकेको छैन । एकद्वार प्रणाली भनेर अरु निजी पहलमा गरिने सहयोग र सामाजिक संघसंस्थाहरुलाई रोकिएको छ । राहत र उद्धारमा जुट्नुपर्ने सरकारी संयन्त्र भने भीआईपीहरुको स्वागत, सम्मान र सुरक्षामा परिचालित हुनुपरेको छ । 

सुरूको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल एक हुल सांसद र मन्त्रीहरू लिएर प्रभावितस्थलमा पुगे । त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको टोली विपद पर्यटनमा निस्कियो ।

रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालका संवेदनशील क्षेत्रदेखि सामूहिक दाहसंस्कार भइरहेको शोकाकुल ठाउँमा पुगी निर्देशन र भाषण सुनाइरहेका छन् ।यही लहरमा मिसिएर राष्ट्रपति किन जाजरकोट जान लागेका हुन् ? यसको कसैसँग कुनै उत्तर छैन । 

स्थानीय जनप्रतिनिधिहरूको भनाइमा अहिले भूकम्पप्रभावित क्षेत्रमा भीआईपी भ्रमण र भाषण चाहिएको छैन । त्यहाँको मुख्य समस्या भनेको त्रिपाल र कम्बल हो। किनभनेचिसो निकै बढेको छ। बेलुका टिक्न गाह्रो हुन्छ। पालिकाको तर्फबाट केही त्रिपाल, कम्बल वितरण गरे पनि प्रभावित बढी भएकाले पुगेको छैन । कतिपय बस्ती विकट ठाउँमा छरिएका छन्।

त्यहाँ घर पूरै भग्नावशेष भएकाले सबै परिवारलाई त्रिपाल चाहिएको छ । आफै वा स्थानीय सरकारले त्रिपाल किन्न सकिने अवस्था छैन । भूकम्प गएको ३ दिन बित्दा पनि राहत नपुर्‍याएको गुनासो स्थानीय जनप्रतिनिधिले खेपिसकेका छन् । उनीहरु कुदेका छन् तर पनि ठाउँमा राहत पुगिसकेको छैन । 

यही क्षेत्रमा फेरि भूकम्प जान्छ भनेर विज्ञहरुले भनिरहेका छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, मुख्यमन्त्रीहरु आए, अवलोकन गरे । छिटो गर्न निर्देशन दिए । नीतिगत कुरा गरे । तर, मुख्य गाँठी कुरा प्रक्रियामा जाँदा ढिलाइ नहुने गरी विधि फुकाउन कसैले ध्यान दिएका छैनन् । उनीहरु रमिता हेरेर मात्र फर्किएका छन् । 

कतिपय अहिले पनि प्रभावितस्थलमा भीडम्भीड गरेर बसेका छन् । त्यतिले नपुगेर राष्ट्रपति पनि त्यहीँ घुम्न जाने भएका छन् । अझ माओवादीका केही नेताहरुलाई त २०८४ को चुनाव लागिसकेको छ । उनीहरु सेवा र सुरक्षा दिनेभन्दा पनि शक्ति प्रदर्शन गर्नेतिर लागेका छन् । प्रधानमन्त्रीदेखि गृहमन्त्री आफ्ना कारणले उतार्न सम्भव भएको भन्दै ध्वाँस दिइरहेका छन् । विपदका नाममा यस खालको सस्तो राजनीति गर्नु भनेको मानवीय संवेदनामाथिको खेलवाड हो । जनताको ज्यान र भावनामाथिको खेलवाड हो ।