१६ औंँ गोदावरी पुष्प प्रर्दशनी आजबाट, कृषिमन्त्री भुषाल भन्छन् अवैधानिक कृषि आयातलाई सबै मिलेर रोक्नुपर्छ

सुन्नुहोस्

काठमाडौं । ‘१६ औंँ गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी २००’ मंगलबारदेखि ललितपुरमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै कृषि मन्त्री डा.बेदुराम भुषालले अवैधानिक कृर्षि वस्तु र फूलको आयात प्रतिस्थापन गर्न सबै मिलेर लाग्नुपर्ने बताएका छन् । 

मंगलबार ललितपुरमा आयोजित ‘१६ औँ गोलावरी फूलको प्रतियोगात्मक प्रर्दशनी २००’ को उद्घाटन कृषि मन्त्री बेदुराम भूषालले गरे । उनले नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सरकार पुष्प व्यवसायीलाई जुनसुकै बेला आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरे । 

कार्यक्रममा व्यवसायीले बिउविजन सम्बन्धी नयाँ नियमावली नबन्दा आफूहरुलाई समस्या परेको भन्दै त्यसतर्फ कृषि मन्त्री भुषालको ध्यानाकर्षण गराएका थिए । 
मन्त्री भुषलले चाँडै बिउविजन सम्बन्धी नयाँ नियमावली आउने बताए । 

उनले भने,‘नियमावली बनाउने काम सरकारको हो हामीले नियमावली बनाउन ढिला गरेका छैनौ । कृषि मन्त्रालयबाट नियमावली तयार भएर अर्थमन्त्रालयको पनि सहमति लिएर हामीले कानूनमा पुर्याइसकेका छौं । प्रकृयामा अगाडि बढेको छ,छिट्टै पारित हुन्छ ।’

सरकार नेपाली उत्पादनको प्रवद्र्धन र संरक्षण गर्ने कुरामा दृढ रहेको बताएका उनले नेपालमा उत्पादन हुने वस्तु विदेशबाट आयात नगर्ने दाबी गरे । केही समय अगाडि आफूलाई दूध आयात गर्न ठूलो दबाब दिँदा समेत दृढ अडान लिएर बाहिरबाट दूध आयात नगरेको स्मरण गर्दै उनले भने थपे,‘जुन चिज हाम्रो देशमा उत्पादन हुन्छ,त्यो चिज हामीले विदेशबाट आयात गर्दैनौ ।औपचारिक रुपमा भएको पनि छैन् ।

तर,हामी सबैले बुझ्नुपर्ने समस्या र दायित्व के हो भने अवैधानिक रुपमा खुला सीमानाबाट वस्तुहरु आइरहेका छन् । यी अवैधानिक तवरले ल्याइने वस्तुलाई हामी सबै मिलेर रोक्नुपर्छ ।’उनले नेतृत्वले भाषण गरेर पन्छिने भन्दा अवैधानिक र वैधानिक कृषि आयातलाई राष्ट्रिय उत्पादन वृद्धि गरेर प्रतिस्थापन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।‘आयातको समस्या समाधान भनेकै हाम्रो राष्ट्रिय उत्पादन वृद्धि गर्ने हो । निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन गर्ने हो । त्यसका निम्ति जनता,सरकार,जनप्रतिनिधि सबै मिलेर काम गर्नुपर्छ’, मन्त्री भुषालले भने ।

नेपाल फ्लोरीकल्चर एसोसिएसनले नजिकिँदै गरेको पर्व तिहारलाई लक्षित गरी आयोजना गरेको १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्ने छ । आयोजकका अनुसार प्रदर्शनीमा ५५ वटा व्यावसायिक,दुई वटा प्रयोगात्मक,दुई वटा सूचनामूलक लगायत कूल ६२ वटा कक्ष रहने छ । यस वर्षको तिहारका लागि आवश्यक फूलको माला आन्तरिक उत्पादनले नै धान्ने  एसोसिएसनले जनाएको छ ।