ओलीको रणकौशलले कांग्रेसको भागमा चौतर्फी पराजय

चुनावमा हारजित त हुन्छ नै । तर प्रतिकूल अवस्थामा पनि चुनाव जित्ने रणनीति बनाउन सक्नु र उक्त रणनीतिको सफल कार्यान्वयन गर्न सक्नु ठूलो राजनीतिक कौशल हो । यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समकालीन राजनीतिका अरु खेलाडीहरुभन्दा आफूलाई अब्बल सावित गरेका छन् । 

उपनिर्वाचनको मुखैमा उनले कांग्रेस नेतृत्वको गठबन्धन आश्चर्यजनक रुपमा तोडिदिए । कतिसम्म भने त्यही गठबन्धनका केही साझेदाहरुले त सरकार ढलेको पनि थाहा पाएनन् । जस्तो कि माधव नेपाल । उनी त्यही कारण अहिलेसम्म बर्बराएर हिँडिरहेका छन् । कांग्रेसलाई हजार भोल्टको करेन्ट लागेजस्तो भएको छ । 

सत्ताबाट बाहिरिनुपर्दाको पीडा त छँदै थियो । उपनिर्वाचनमा जताततैबाट पराजित हुनुपरेको अर्को पीडा थपिएको छ कांग्रेसलाई ।  इलाममा एमालेको वर्चस्व थियो । एमालेका सुवास नेम्बाङजस्ता उच्च राजनीतिक कद भएका नेताको क्षेत्र थियो । त्यसैले सुवासका छोरा उठ्दा पनि एमालेले जित्नु स्वाभाविक थियो ।

तर पनि त्यहाँ प्रतिकूलता नभएको होइन । पहिचानवादीको जगजगी थियो । कांग्रेसले एमालेविरुद्ध पहिचानवादीलाई उचालिरहेको थियो । रास्वपा त २०७९ पछिका सबै चुनाव आफ्नै हुन् भन्ने भ्रममा थियो । यस्तो बेलामा राजनीतिका कखरा सिक्न हिँडेका एक कलिला विद्यार्थी सुहाङ नेम्बाङलाई टिकट दिएर ओलीले इलाम पठाएका थिए । 

ओलीले यसो किन गरे त ? किनभने उनले समयको ढुकढुकी बुझेका थिए । समय युवाको छ । समय नयाँको छ । के एमालेमा युवा छैनन् र ? के एमालेमा युवा छैन र ? हो, ओलीले यही बुझेर कयौँ बूढापुराना नेतालाई पछि लगाएर ३५ वर्ष पनि नकटेका सुहाङ नेम्बाङलाई मैदानमा उतारे । शिवमाया तुम्बाहाङ्फेजस्ता नेतालाई चुनावी कमाण्डर बनाएर पठाए । अनि रास्वपाको त्यहाँ जमानत जफत भयो । कांग्रेसले पहिला नै हारिसकेका ठेकेदारलाई टिकट दिएर पठायो । देउवा दम्पतीबाट चलेको कांग्रेसमा योभन्दा बढी अपेक्षा के नै गर्न सकिन्थ्यो र ?

गगन थापा क्रान्तिकारी बन्ने नाममा इलाममा भाषण गर्न जाँदा बझाङको भोट घटाइदिए । इलाममा बाबुको राजनीतिक बिँडो थाम्न छोरालाई ल्याएर राजतन्त्रको अभ्यास गर्‍यो भनेर गगनले भाषण गरे । त्यो भाषण इलाममा भन्दा बढी चर्चा बझाङमा भयो । बझाङ कांग्रेसले नै जितेको सिट थियो । त्यो पनि गुमायो यसपालि । 

बझाङको सिट गुमेपछि कांग्रेस अब सुदूरपश्चिम प्रदेशसभा पनि प्रतिपक्षीको बेन्चमा ढुक्कैले बस्नुपर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका अवैधानिक अध्यक्ष रेशम चौधरीको काँधमा बन्दुक पड्काउने कांग्रेसको दाउ पनि अब सफल हुने देखिँदैन । एमालेको एक सिट थपिनेबित्तिकै नाउपाको बार्गेनिङ पावर घटेको छ र उसलाई प्रतिपक्षमा राखेर राप्रपालाई मात्र मनाए पनि सरकार टिक्ने भएको छ । 

अझ पोखरामा एमाले सरकारलाई सर्वोच्चको साथ मिलेको छ । सभामुखको गणनाबारे सर्वोच्चले नयाँ नजिर प्रतिपादन गरेको छ । त्यस हिसाबले अब सुदूरपश्चिममा पनि सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन समस्या हुने देखिँदैन । किनभने सभामुखले सरकार बनाउन वा ढाल्न सक्दैन भने निर्णायक मत दिने अवस्थाबाहेक अरु बेला सदस्यका रुपमा गणना पनि हुन सक्दैन भनेर सर्वोच्चले सोमबार भनेको छ । 

यो उपचुनावले एमालेको आत्मविश्वास बढाएको छ । कांग्रेस पुनः पराजित भएको छ ।  कांग्रेस मात्र होइन । खास हार शेरबहादुर देउवा र उनको परिवारको भएको छ । इलाममा भाषण गर्न जाने गगन थापाको पनि हार हो । चुनावी कमाण्डर विश्वप्रकाश शर्माको हार हो । जातीय नारा उचालेर राजनीतिलाई साम्प्रदायिकरण गर्न खोज्नेहरुको पनि हार हो । साम्प्रदायिकताको लाभ लिन कांग्रेसले देखाएको दोहोरो चरित्र पनि पराजित भएको छ ।