फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा नलेख्न अदालतले दियो आदेश

काठमाडौँ– भारतमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षा बढेपछि फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा नलेख्न अदालतले आदेश दिएको छ ।

समीक्षाको विषयमा केरलाको उच्च न्यायालयले एक फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको हो । केरल उच्च अदालतद्वारा नियुक्त एमिकस क्युरीका श्याम पेडमेनका तर्फबाट प्रस्तुत गरिएको रिपोर्टमा सामाजिक सञ्जालमा फिल्मलाई लिएर नकारात्मक समीक्षा गर्ने व्यक्तिहरू विरुद्ध कडा कदम चालिएको हो ।  

अदालतका अनुसार केही यस्ता व्यक्ति छन्, जो फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा समीक्षा गर्छन् । अदालतले एक तहका व्यक्तिहरू पैसा र पुरस्कारको लालचमा यस्ता काम गर्ने तथा पैसा र पुरस्कार नपाउनेले फिल्मको विरुद्ध खराब समीक्षा लेख्ने गरेको ठहर गरेको छ । 

अदालतले यो मामलालाई लिएर एक पोर्टल गठन गर्न पनि सुझाव दिएको छ । एमिकस क्युरीले अदालतमा पेश गरेको दिशानिर्देश अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियम पालन गर्न भनिएको छ ।

नकारात्मक समीक्षालाई लिएर २३ अक्टोबर, २०२३ मा फिल्म ‘राहेल माकन कोरा’ का निर्देशकले पुलिस स्टेसनमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको आरोप लगाएका थिए ।

हुन पनि भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर चलेको छ । सामाजिक सञ्जालमा नकारात्मक समीक्षा आएपछि फिल्मको बक्स अफिसमा प्रभाव पार्ने भन्दै बहस समेत हुँदै आएको छ ।