कोसी प्रदेश सरकार र पक्षधरबीच आज वार्ता हुदैँ

कोसी प्रदेश सरकार र प्रदेशको नामप्रति असन्तुष्ट पहिचान पक्षधरबीच आज (बिहीबार) वार्ता हुने भएको छ। 

प्रदेशको नाम पहिचानका आधारमा अर्कै राख्नुपर्ने माग राखेर आन्दोलनरत ‘प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समिति’सँग प्रदेश सरकारले आज वार्ता गर्न लागेको हो। 

वार्ताका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिसकेको छ भने पहिचान पक्षधरले पनि वार्ता टोली बनाइसकेका छन्। 

उनीहरूबीच वार्ता दिउँसो ३ बजे विराटनगरमा हुने बताइएको छ। हिक्मतकुमार कार्की नेतृत्वमा सरकार रहेका बेला २०७९ फागुन १७ गते प्रदेशसभाको बहुमतले प्रदेशको नाम कोसी पास गरेको थियो। 

तर प्रदेशको नाम पहिचानका आधारमा राखिनुपर्ने जिकिर गर्दै पहिचान पक्षधर आन्दोलनमा उत्रिएका हुन्।