आफूले नै मुख्यमन्त्री बनाएकाे कार्कीविरुद्ध एमाले, ३९ सांसदलाई हस्ताक्षर गराएर सरकार ढाल्ने तयारीमा

केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढाल्ने खेल नेकपा एमालेले सुरु गरेको छ।नेकपा एमालेले आफूले नै बनाएको मुख्यमन्त्रीको विकल्प सोच्ने अवस्थामा पुग्न लागेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन्।

कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै एमालेकै सर्मथनमा मुख्यमन्त्री बनेका कार्कीलाई हटाउन एमाले लागि परेकाे छ। एमाले मुख्यमन्त्री कार्कीसँग विगतदेखि नै रिसाउँदै आएको थियो। कार्कीले संसद्को अधिवेशन अन्त्य गरि एकपछि अर्को अध्यादेश ल्याएपछि एमाले थप रुष्ट बनेकाे हाे।

मुख्यमन्त्री कार्कीकाे सरकार ढाल्न एमालेले आफ्ना ३९ सांसदको हस्ताक्षर सङ्कलन गरेर समेत तयारी अवस्थामा राखेको छ। आफूहरूले हस्ताक्षर सङ्कलन गरेको विषय सत्य भएको प्रमुख सचेतक भण्डारीले बताए। 

‘विगतको कठिन अवस्थामा हामीले उहाँलाई मुख्यमन्त्री बनाएका हौं। तर अब विकल्प सोच्ने समय आएको हो कि भन्ने अवस्थामा एमाले पुगेको छ,’ भण्डारीले भने, ‘अहिले हामी आंशिकरूपमा त्यो अवस्थामा पुगेका छौं। हामीले नै रात दिन खटेर उहाँलाई मुख्यमन्त्री बनाएका हौं। हामीलाई पछुतै लागेको त नभनौं तर जुन विश्वास र समझदारीका साथ उहाँलाई मुख्यमन्त्री बनाएका थियौं, उहाँले बाटो बिराउनुभयो। उहाँले सहन नसक्ने खालको कुरा गर्नुभएको छ। आवश्यक कदम चाल्छु त भनिरहनु भएको छ। हामी पनि सहने अवस्थासम्म सहन्छौं। सहनै नसक्ने अवस्था आयो भने केही न केही त हामी पनि कदम चाल्छौं।’

भण्डारीले मुख्यमन्त्री केदार कार्की बन्दा प्रयोग भएको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै अर्को सरकार बन्नसक्ने तर्क पनि पेस गरेका छन्।