१० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने कोशी प्रदेशसभाको निर्णय

कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०र८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

 प्रदेश सरकारले बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ। मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री केदार कार्कीले  बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत १० वर्षमुनिका बालबालिकालाई निःशुल्क  विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कूल ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालु खर्च १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार विनियोजन गरेका छन् । बजेटमा तीन करोड ४७ लाख ८५ हजार थप व्ययभार हुने उल्लेख छ ।

यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यादेश मार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए । अध्यादेशमा रहेका केही योजना कटौती गरी नयाँ योजना थप गरेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत बजेटको आकार ५० करोड वृद्धि गरेका हुन् ।