लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् ।

बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसी र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका हुन् ।

मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद विस्तार गरेका छन् । कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहश्रराम यादव र सुमन रायमाझी मन्त्री बनेका छन्।

खड्काले आर्थिक योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने चौधरीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा कानुन, स्वास्थ, भूमि र उद्योग मन्त्रालयको कार्यभार समेत आफैलै सम्हालेका छन्।