प्रदर्शन अगाडि मोफसल भ्रमण

काठमाडौँ।चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । त्यसको असर व्यापारमा पनि देखिन्छ । काठमाडौँ उपत्यकामा हुने चलचित्रको व्यापार मोफसलको तुलनामा बढी हुन्छ । यद्यपि चलचित्र भवनको सङ्ख्या मोफसलमै बढी छ ।

मोफसलको बजारबाट पाउनुपर्ने मुनाफा पाउन नसकेको निर्माता रवीन्द्रसिंह बानियाँले बताउनुभयो । उहाँले निर्माण गर्नुभएको पछिल्लो चलचित्र ‘महापुरूष’ को चितवन र इटहरीमा ‘प्रिमियर’ गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मोफसलमा हामीले राम्रोसँग प्रचार गर्न सकेमा चलचित्रले राम्रो व्यापार गर्छ । त्यसैले हामीले हाम्रो गतिविधि काठमाडौँ केन्द्रितमात्र नभई मोफसलमा समेत गरिरहेका छौँ ।”

सीमित चलचित्रले मात्र मोफसलमा बजार बढाउने कार्य गरिरहेको देखिन्छ । पछिल्लो समय काठमाडौँभन्दा पनि मोफसल प्रचार–प्रसारमा बढी केन्द्रित देखिएको चलचित्र हो– ‘परदेशी २’ । गत साता बागलुङमा पहिलो प्रदर्शनी ९प्रिमियर० सम्पन्न गरेको चलचित्रको निर्माण समूहले तीन चरणमा मोफसलका हरेक सहरमा प्रचार गरेका छन् । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचार–प्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

चलचित्र ‘परदेशी २’ का निर्देशक नारायण रायमाझीले नेपाली चलचित्रलाई माया गर्ने दर्शकसँग मोफसल भ्रमणमा साक्षात्कार गर्ने अवसर पाएको बताउनुभयो ।

“हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझै कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि पनि हाम्रो गतिविधि हुनु आवश्यक छ”, निर्देशक रायमाझीले भन्नुभयो, “प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीयरूपमा प्रचार–प्रसार हुन्छ । मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ ।”

अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ, समाजकै कथा व्यक्त गर्ने निर्देशक रायमाझीले जानकारी दिनुभयो ।

राजेश वंशलले निर्माण गर्नुभएको चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।