रावल र भट्टको विवादले एमालेमा फेरि विभाजनकाे खतरा !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा कलहको अवशेष बाँकी रहँदा फेरि फुटको त्रास बढेको छ । पार्टी अध्यक्षकै कारण फेरि यो अवस्था देखा परेको हो । पार्टी २०७५ जेठ २ अगाडिको अवस्थामा फर्केको पनि भन्ने अनि कार्यान्वयन चाँही नगर्ने अध्यक्ष ओलीको व्यवहारले पार्टी विभाजनको विपक्षमा उभिएका भीम रावल लगायतका नेताहरुलाई अप्ठयारो पर्दै गएको छ ।अध्यक्षले सुदूरपश्चिम इन्चार्जको विषयमा छिनोफोनो नगर्दा यसले पार्टीमा भुसको आगोको रुप लिँदै गएको छ ।

उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट आआफ्नै अडानबाट पछि नहट्दा सुदूरपश्चिम प्रदेशबाट विधान महाधिवेशनमा साझा प्रतिनिधि नपाउने निश्चित जस्तै बनेको छ ।तर, आगामी असोज १५देखि १७ गतेसम्म गर्ने पूर्वनिर्धारित विधान महाधिवेशनको तयारीलाई भने तिब्रता दिइएको छ ।

भट्टले रावललाई बाइपास गरेर महाधिवेशनका लागि ८ जिल्लाको प्रतिनिधि छनोट गरिसकेका छन् । यसलाई भट्टले पार्टीको आधिकारिक निर्णय भनेका छन् । तर त्यसलाई रावलले अस्वीकार गर्दै आएका छन् ।

नेकपा हुँदा व्यूँताइएको एमालेमा अन्तरविरोध हुँदा भट्टले प्रचण्डलाई छाडेर केपी ओलीलाई दह्रो साथ दिएका थिए । संकटमा आफ्नो हात दह्रो गरी समाएकाले ओलीले पनि भट्टलाई च्यापेका छन् । ओलीले भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाउने आफ्नो निर्णयबाट पछि हट्ने संकेत नदेखाउँदा अन्तरकलह फेरि बढ्ने निश्चित भएको हो ।

रावल पक्षले भने १० बुँदे सहमतिको खाका सुदूरपश्चिमको हकमा पनि लागू हुनु पर्नेमा जोड दिँदै आएका छन् । अध्यक्ष ओली माधव नेपाललाई पार्टीमा फर्काउन मात्रै १० बुँदे सहमति गरेको जसरी उनी नफर्के पछि त्यसको औचित्य सकिएको जस्तो व्यवहार गर्न थालेका छन् ।

रावल र भट्टको विवाद लम्बिदै गएमा एमालेमा विभाजन आउने जटिलता उत्तिकै रहेको भन्दै ओली गम्भिर बन्नुपर्ने उनी पक्षका नेताहरुको सुझाब छ ।भीम रावल पार्टीमा उपाध्यक्ष भएको हुँदा पदिय रुपमा पनि भट्ट भन्दा सिनियर भएको हुँदा नेतृत्वले उनलाई राम्रो र प्रभावकारी जिम्मेवारी दिएर भट्टलाई इन्चार्ज कायमै राख्दा पार्टीको हितमा हुने नेताहरुले बताएका छन् ।

दुई नेताको पदीय टकराबले सिंगो पार्टीको विधान महाधिवेशन नै प्रभावित हुने देखिएको छ । दल विभाजन अध्यादेश खारेज नहुँदै भएको किचलोले एमालेमा अर्काे ठूला भूकम्प नजाला भन्न सकिदैन ।