कोभिड - १९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडौँ– कोरोना भाइरस महामारी रुपमा फैलिएका (कोभिड) - १९ रोकथामको लागी प्रहरी प्रधान कार्यालयले केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, तथा अन्य जिल्ला मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।

उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ ।

जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ ।

उनले यसपालि दशैँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।