संघीयताको हुर्मत लिन प्रदेश सरकारहरू नै सक्रिय, के खारेज गर्नैपर्ने भएको हो यो संरचना ?
काठमाडौँ । संघीयता कार्यान्वयनमा आएपछि सातै प्रदेशका प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बजेट बुधबार सार्वजनिक गरिए । ५ वर्षको बजेट र खर्चको प्रवृत्ति विश्लेषण गर्दा संघीयताको सबैभन्दा बढी हुर्मत नै यही संरचनाले लिइरहेको पुष्टि हुन्छ ।
शक्ति निक्षेपीकरणको एउटा महत्त्वपूर्ण हिस्सा मानिएका प्रदेशका संरचना विकासका लागि नभएर स्रोतको दोहन गर्ने नयाँ मञ्चजस्ता देखिएका छन् । यिनका बजेटमा रचनात्मकता त छैन नै, जनतासँग जोडिएर नयाँ व्यवस्थाप्रति आशा र भरोसा जगाउने कुनै कार्यक्रम र नवीनता पनि छैन । केन्द्रको उही वितरणमुखी रोग तल सारिएको छ । कुनै उत्पादन र रोजगारी नदिने क्षेत्रमा रकम छर्ने प्रवृत्ति यसले पनि आत्मसात् गरेको छ । स्थानीय तहका वडा र युवा क्लबसँग मिल्दाजुल्दा कार्यक्रमको बोझ पनि यसैले लिने खालका देखिएका छन् ।
सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ५ अर्ब ४६ करोडको बजेट ल्याएका छन् । यो बजेट संघीय सरकारको बजेटसँग तुलना गर्दा १७ प्रतिशत हुन्छ । बाग्मती, मधेस र लुम्बिनीलाई छाड्ने हो भने अरु ४ प्रदेशका बजेटको आकार ४० अर्बभन्दा कम छ । जबकि काठमाडौं महानगरपालिकाले गत वर्ष नै यसको आधा अर्थात् १९ अर्ब थियो । यति सानो बजेटमा पनि प्रदेशको आफ्नै आयस्रोत एक तिहाइ हाराहारी मात्रै छ ।
आयस्रोतमा कर्णाली प्रदेश सबैभन्दा बढी कमजोर छ । संविधान र राजस्व बाँडफाटसम्बन्धी कानुनले प्रदेशको भागमा लगाएका राजस्व स्रोत कर्णालीको हातमा खासै पर्दैन । यही कारण उसले यसपालि अरु प्रदेश सरकारले जस्तो मन फुकाएर नगदै बाँड्ने योजना पनि ल्याउन सकेन । आफ्नो कमाइ नहुनुको अर्थ पैसा बाँड्न नपाउने मात्रै होइन, प्रदेशभित्र सरकारले आफ्नै योजनामा देखिने गरी काम गर्न पनि सक्दैनन् ।
कर्णाली मात्र होइन, सुदूरपश्चिम र अरूतिर पनि संघीय सरकारले दिएको दानमा निर्भर प्रदेश सरकारको उपयोगिता कमजोर हुँदै गएको छ । अझ खासमा यो देशमा संघीयता कसैलाई चाहिएको छ भने त्यो सुदूरपश्चिम र कर्णालीमा नै हो । किनभने अहिलेसम्म राज्यको नजरमा नपरेका र ठगिएको महसुस गरेको त्यस क्षेत्रमा स्रोतसाधन दिएर विकास निर्माण र जनजीविकामा व्यापक छलाङ मार्ने खालका योजना ल्याउन स्वायत्तता आवश्यक थियो । प्रदेश नभनी विशेक्ष क्षेत्र वा स्वायत्त क्षेत्र भने पनि पुग्ने हुन्थ्यो । कर्णाली र सुदूरपश्चिमको नजरमा संघीयता झन् विभेदकारी बनेर आइदियो र सके आफै गरी खा नभए मरी जा भन्ने शैलीमा व्यवहार गरियो ।
प्रदेशको संरचना स्रोत मात्र होइन, राजनीति र नेतृत्व पनि केन्द्रीय सत्तासँग ज्यादा निर्भर छ । काठमाडौंको राजनीतिक समीकरणमा बदलाव आउँदाबित्तिकै प्रदेशका सरकार भताभुंग हुने कारणले पनि यस संरचनाले प्रभावकारी काम गर्न सकेको छैन । अर्कातिर संविधानले नचिन्ने ७७ जिल्लाको संरचना स्थायी राखेर प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई बढी अख्तियारी दिँदा पञ्चायतकै झल्को दिइरहेको छ । प्रदेशका मुख्यमन्त्रीभन्दा सीडीओ बढी शक्तिशाली भएको गुनासो र द्वन्द्व अझै मेटिएको छैन ।
संघीयता कार्यान्वयनमा आएको पहिलो वर्ष ७ प्रदेशलाई ७ अर्ब १४ करोड बजेट दिइएको थियो । त्यसको पनि ३५ प्रतिशत मात्रै खर्च हुन सक्यो । दोस्रो वर्षदेखि राजस्व बाँडफाँट र अघिल्लो वर्ष खर्च नभएको पैसा थपिँदै जाँदा बजेटको आकार बढ्यो । खर्च पनि बढेको देखिएको छ । गत वर्ष विनियोजित बजेटको ७२ प्रतिशत खर्च भएको थियो । यथार्थमा भन्दा स्रोत नभए पनि मतदातालाई उधारा योजना देखाएर मख्ख पार्न कागजमा बजेट देखाउने प्रवृत्तिले घोषणा गरिएभन्दा निकै कम रकम खर्च भइरहेको छ । त्यसबाहेक छिटोछिटो सरकार परिवर्तनले निर्धारित क्षेत्रमा बजेट खर्च नगरी हरेक नयाँ मन्त्री र सरकारले आ–आफ्ना राजनीतिक स्वार्थ र प्राथमिकतामा बजेट बगाउन खोज्दा पनि प्रदेशले प्रभावकारी काम गर्न नसकिरहेको हो । सारमा भन्दा प्रदेशले आफै संघीयताको धज्जी उडाइरहेका छन् र यही मञ्चबाट जानेर वा नजानेर संघीयताप्रति वितृष्णा बढाउँदै देशलाई आवश्यक छैन भन्ने सन्देश दिइँदै छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया