नेकपाभित्र चर्कियो आन्तरिक विवाद: 'प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन्' भन्दै असन्तुष्टि बढ्दै

काठमाडौँ, १ असारः संसद्को दोस्रो ठूलो वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद तीव्र बनेको छ। नेतृत्वको कार्यशैली, वैचारिक अस्पष्टता र संगठनात्मक व्यवस्थापनलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ।

साबिक माओवादी केन्द्र, एकीकृत समाजवादीसहित करिब २५ घटक मिलेर बनेको नेकपामा पछिल्ला निर्णय र कार्यान्वयनमा ढिलाइ भएपछि नेताहरूबीच असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको हो।

पार्टीभित्रको समीक्षात्मक बैठकले आगामी मङ्सिरमा एकता महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन नहुँदा वरिष्ठ नेता झलनाथ खनालले नेतृत्वमाथि कडा आलोचना गरेका छन्। उनले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वर्तमान संकट समाधान गर्न नसक्ने दाबी गर्दै नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन्।

खनालले पार्टीभित्र वैचारिक, संगठनात्मक र नेतृत्वगत संकट गहिरिँदै गएको भन्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले पार्टी संसदीय यथास्थितिवादतर्फ झुक्दै गएको र क्रान्तिकारी लक्ष्य कमजोर बन्दै गएको आरोप समेत लगाएका छन्।

त्यस्तै, पार्टीभित्र कार्यविभाजन, जिम्मेवारी वितरण र एकताका सहमतिहरू कार्यान्वयन नभएको भन्दै अन्य नेताहरू पनि असन्तुष्ट देखिएका छन्। भीम रावल वरीयता विवादका कारण बैठकमै सहभागी नभएको बताइएको छ भने वामदेव गौतमले पनि संगठनात्मक जिम्मेवारीलाई लिएर असन्तुष्टि जनाएका छन्।

संविधान संशोधन, कार्यदल गठनदेखि विभागीय नेतृत्व चयनसम्मका निर्णयमा पारदर्शिता नभएको आरोप नेताहरूले लगाइरहेका छन्।

यद्यपि, पार्टी प्रवक्ता प्रकाश ज्वालाले भने सबै असन्तुष्टिहरू महाधिवेशनमार्फत समाधान हुने दाबी गर्दै अहिलेको विवादलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्। उनका अनुसार एकता, समायोजन र संगठन निर्माणका कामहरू अघि बढिरहेका छन्।

तर आन्तरिक विवाद, नेतृत्वप्रतिको प्रश्न र संगठनात्मक असन्तुलनका कारण नेकपाको एकता र भविष्यप्रति नै गम्भीर शंका उत्पन्न भएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।