इंग्ल्यान्डको टेस्ट टीमका नयाँ कप्तान जोन रुट
काठमाडौं । इंग्ल्यान्डको टेस्ट टीमका कप्तान बेन स्टोक्स र बलर गस एट्किन्सनलाई अर्को साता हुने न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टका लागि इंग्ल्यान्ड टोलीबाट बाहिर राखिएको छ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले उपकप्तान ह्यारी ब्रुकको सट्टा जो रुटलाई कप्तानीको जिम्मेवारी दिएको छ। आइतबार बिहान चेल्सीस्थित एक नाइटक्लबमा भएको झडपसम्बन्धी घटनाको अनुसन्धान जारी राखिरहेका बेला बोर्डले यस्तो कदम चालेको हो ।
इंग्ल्यान्डका नियमित कप्तान स्टोक्स तथा गत साता लर्ड्समा भएको पहिलो टेस्टको दोस्रो इनिङ्समा पाँच विकेट लिएर टोलीलाई जित दिलाउने एट्किन्सनको स्थानमा १५ सदस्यीय टोलीमा जोफ्रा आर्चर र जोर्डन कक्सलाई समावेश गरिएको छ।
रुटको कप्तानका रूपमा पुनरागमन निकै अप्रत्याशित मानिएको छ। उनले सन् २०१७ देखि २०२२ सम्म कीर्तिमानी ६४ टेस्टमा इंग्ल्यान्डको कप्तानी गरेका थिए, त्यसपछि स्टोक्सले नेतृत्व सम्हालेका थिए।
स्टोक्स घाइते हुँदा गत वर्ष पाकिस्तान भ्रमणका क्रममा समेत कप्तानीमा फर्कन अनिच्छुक देखिएका रुट यसपटक विशेष परिस्थितिका कारण जिम्मेवारी लिन तयार भएका हुन्। उपकप्तान ब्रुक स्वयं पनि गत वर्ष न्युजिल्यान्डको एक नाइटक्लबमा भएको घटनाका कारण जरिवाना र चेतावनीको सामना गरिसकेका छन्।
कक्सका लागि यो टोलीमा पुनः अवसर हो। चोटका कारण दुईपटक टेस्ट डेब्युको अवसर गुमाएका उनले गत वर्ष सेप्टेम्बरमा एसेक्सका लागि खेलेपछि प्रथम श्रेणी क्रिकेट खेलेका थिएनन्। हालै मात्र उनी भारतबाट फर्किएका हुन्, जहाँ रोयल च्यालेन्जर्स बेङ्गलुरुको आईपीएल उपाधि यात्राका क्रममा उनी टोलीमा रहे पनि खेल्ने अवसर पाएका थिएनन्।
त्यसपछि उनले दक्षिण अफ्रिकाविरुद्धको ५० ओभरको शृंखलामा इंग्ल्यान्ड लायन्सबाट खेलेका थिए। मंगलबार भाइटालिटी ब्लास्टमा एसेक्सले केन्टलाई पराजित गर्दा उनले ३१ बलमा ४० रनको आकर्षक इनिङ्स खेलेका थिए।
गत साता ईएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै कक्सले इंग्ल्यान्ड टोलीमा अवसर नजिक पुगेर पनि छुटिरहेका क्षणहरूबारे प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, “मलाई लाग्छ, पछिल्ला तीन वर्षदेखि म राष्ट्रिय टोलीको ढोकामै पुगेको छु। आशा छ, अब फर्किएर राम्रो सुरुआत गर्न सक्नेछु। त्यो आदर्श हुनेछ, त्यसपछि जे हुन्छ, त्यही स्वीकार्नेछु।”
आर्चर बिहीबार स्वदेश फर्किने कार्यक्रम छ। राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका कारण उनी लर्ड्स टेस्टका लागि छनोटमा परेका थिएनन्। त्यस खेलपछि मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमले आर्चरको टेस्ट टोलीमा पुनरागमनको संकेत दिएका थिए।
डिसेम्बरमा एसेस शृंखलाका क्रममा साइड स्ट्रेनका कारण टेस्ट क्रिकेटबाट बाहिरिएका आर्चरको पुनरागमन भए पनि उनी तत्काल अन्तिम टोलीमा पर्ने निश्चित नभएको म्याकुलमले बताएका थिए, किनभने उनको रातो बलको कार्यभार क्रमशः बढाइँदै लगिएको छ।
मोरङको सीमावर्ती क्षेत्रबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आज रातिबाट सुरु हुँदैछ फिफा विश्वकप
भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश
ब्रेकपछि क्याट्रिना कैफ पुनः चलचित्रमा फर्कने तयारी, २०२७ तिर सेटमा देखिने
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रतिक्रिया