जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका छन् ।
बुधबार उत्तरपूर्वतर्फ सर्दै गरेको जाङ्मीले भारी वर्षासहित तीव्र हावा ल्याएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो । राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार पाँच हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
टोकियोको मुख्य सहरी क्षेत्रमा पर्ने जेनपुकुजी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आवश्यक परे आश्रय लिन आग्रह गरिएको छ । स्थानीय टेलिभिजनहरूले नदी किनार नजिकै माटोमिश्रित पानी सतहभन्दा माथि उठ्दै जोखिमपूर्ण अवस्थामा पुगेको दृश्य प्रसारण गरेका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार उष्णकटिबन्धीय आँधी जाङ्मी बुधबार बिहान शिमा सहरको पूर्वी क्षेत्रमा अवस्थित थियो र उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो । आँधीसँग अधिकतम ९० किलोमिटर प्रतिघण्टा गतिको निरन्तर हावा कायम रहेको बताइएको छ ।
एजेन्सीले पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा उच्चस्तरीय बाढी चेतावनी जारी गर्दै नदी किनार र पहिरो तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने मानिसलाई सुरक्षाका लागि उच्च भूभागतर्फ जान आग्रह गरेको छ ।
मध्य जापानको ओवासे क्षेत्रमा पछिल्लो २४ घण्टामा करिब ५० सेन्टिमिटर वर्षा मापन गरिएको छ । मौसम निकायका अनुसार टोकियोसहित केही क्षेत्रमा बिहीबार बिहानसम्म थप २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने अनुमान गरिएको छ, जसले बाढी र भूक्षयको जोखिम अझ बढाउन सक्छ ।
जाङ्मीले यसअघि दक्षिणी टापु ओकिनावामा प्रभाव पारेको थियो, जहाँ कम्तीमा १५ जना सामान्य घाइते भएका थिए । त्यसपछि आँधी वाकायामा प्रान्ततर्फ बढ्ने क्रममा केही कमजोर बनेको जनाइएको छ । एक समय टाइफुनको स्तरमा पुगेको यस आँधीमा १२६ किलोमिटर प्रतिघण्टासम्मको हावा मापन गरिएको थियो । भित्री भूभागतर्फ प्रवेश गरेपछि यसको शक्ति केही घटे पनि दिनभर उष्णकटिबन्धीय आँधीको स्तर कायम रहने पूर्वानुमान गरिएको छ ।
मौसमविद्हरूले भारी वर्षा, नदीको सतह बढ्दो अवस्था र निरन्तर अस्थिर मौसमका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
राज्यले खेलमा भविष्य छ भन्ने भावना जागृत गर्नुपर्छ : राष्ट्रपति पौडेल
मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै
पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निष्कर्ष
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
प्रतिक्रिया