हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी

काठमाडौँ, २६ पुस : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रहरी दरबन्दी संख्या १ हजार ११३ हो । तर, अहिले त्यहाँ १ हजार ८३५ जना कार्यरत छन् । 

उपत्यकामा बढ्दो सवारीको चाप र सडक अनुपात नमिल्दा ट्राफिक प्रहरीले प्रविधि (सीसीटीभी, ट्राफिक लाइट लगायत)लाई मात्रै प्रयोगमा ल्याएर व्यवस्थापन गर्न सक्ने अवस्था छैन । दिनदिनै निकालिने ‘चेकिङ’ मा ‘म्यानुअली’ नै ट्राफिकले कारबाही गर्दै आएको छ । 

उपत्यकामा अहिले १५ लाखभन्दा बढी सवारीसाधन गुडिरहेका छन् । कार्यरत ट्राफिक प्रहरीको संख्या हेर्दा एकजना ट्राफिक प्रहरीले ८ सय १७ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने देखिन्छ । थोरै दरबन्दीका बावजुद प्रहरीलाई नै ट्राफिकसम्बन्धी तालिम दिएर फिल्डमा खटाइएको छ । 

काठमाडौंमै रहेको अर्को कार्यालय काठमाडौं जिल्ला प्रहरी परिसरको दरबन्दी ४ हजार १६ हो । तर, एसएसपीको कमान्डमा ३ हजार ३ सयको हाराहारीमा मात्रै प्रहरी कार्यरत छन् । राष्ट्रिय जनगणना अनुसार काठमाडौंको जनसंख्या २० लाख ४२ हजार हाराहारीमा छ । जनसंख्या र प्रहरी संख्याको अनुपात हेर्दा १ जना प्रहरीले ६२ जनाको सुरक्षा दिनुपर्ने हुन्छ । त्यसो त काठमाडौंमा अपराधका घटना वृद्धि हुँदै गएका छन् । विशेषगरी आर्थिक अपराध र त्यसमा साइबरको प्रयोगबाट हुने अपराध नियन्त्रणमा चुनौती उत्तिकै देखिन्छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दरबन्दी संख्या ३ सय २३ जना हो । कार्यरत संख्या भने ३ सय मात्रै छ । चोरी, लुटपाट, कुटपिट, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, ठगीजस्ता अपराध अनुसन्धानमा दख्खल राख्ने अनुसन्धान अधिकृतको पनि कमी छ । 

सिंगो प्रशासन र संघीय सरकारी कार्यालय रहेको काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीमा अहिले ७९ हजार ५ सय ४१ जनाको दरबन्दी छ । तर, कार्यरत संख्या ७४ हजार ८ सय ६७ जना मात्र छ । 

अझै २८ हजार दरबन्दी आवश्यक रहेको भन्दै प्रहरी मुख्यालयले संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी गृह मन्त्रालयमा परिपत्र गरेको छ । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले प्रहरी मुख्यालयले ओएनएम गरेर गृह मन्त्रालयमा परिपत्र गरिएको  बताए । 

उनले भने, ‘हामीले कहाँ कति दरबन्दी आवश्यक छ भनेर ओएनएम गरी विवरण गृह मन्त्रालयमा पठाएका छौं । मन्त्रालयले होमवर्क गरिरहेको होला भन्ने हाम्रो अपेक्षा छ ।’ 

गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी निरीक्षक, असई र जवानको भर्ना खुलाएर दरबन्दी पूर्ति गर्ने काम भइरहेको बताए । उनले भने, ‘एकैपटक सबै दरबन्दी पूर्ति गर्न सकिँदैन, विस्तारै गर्ने हो । आवश्यकता र औचित्यका आधारमा मात्रै दरबन्दी पूर्ति गर्दै जान्छौं ।’ 

प्रहरी मुख्यालयका एक उच्च अधिकृतका अनुसार भीआईपी (पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री र पूर्व सांसद)को सुरक्षाका लागि छुट्टै प्रहरी परिचालन मात्रै नभएर पीएसओ समेत प्रहरी नै खटाउँदा दैनिक कामकाजमा प्रहरीको अभाव खट्किएको हो । त्यस्तै, संसद् चल्दा र समितिहरू चल्दा समेत मर्यादापालकको रूपमा समेत प्रहरी खटाइँदै आएको छ । 

प्रहरी मुख्यालयका अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७  अनुसार १ हजार २ सय ५९ जना सुरक्षाकर्मी भीआईपीको सुरक्षामा खटिएका छन् ।