प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

नेपाली सेनाको आयोजनामा प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    सेनाको आयोजनामा सैनिक पुनस्र्थापना केन्द्र भण्डारखालमा आज आयोजित प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल ह्विलचियर क्लब प्रथम र महिलातर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम भएका छन् ।

    पुरुषतर्फ त्रिभुवन आर्मी क्लब दोस्रो भए भने महिलातर्फ स्पाइनल कर्ड इन्जुरी नेटवर्कले दोस्रो स्थान हासिल गरेका छन् । 

    यसैगरी, पुरुषतर्फ नै स्पाइनल कर्ड इन्जुरी नेटवर्क तेस्रो भए । महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्टस क्लबले तेस्रो स्थान प्राप्त गरेका छन् ।

    प्रतियोगिताका प्रथम टोलीलाई जनही रु २० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र, दोस्रो टोलीलाई जनही रु १५ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र र तेस्रो टोलीलाई जनही रु १० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

    उक्त प्रतियोगितामा विजेता टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले पुरस्कार वितरण गर्नुभएको थियो । सेनाले अपाङ्गता भएकालाई हौसला प्रदान गर्न पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरिएको बलाधिकृत रथी सिग्देलले बताउनुभयो ।

    प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ टोलीको सहभागिता थियो । सहभागी टोलीलाई हौसला प्रदान गर्नका लागि जनही रु पाँच हजार नगद प्रदान गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका खेलाडीले सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए ।