अन्नपूर्ण केबल कारद्वारा पर्यटन विकासको प्रतिबद्धताका साथ पार्टनर्स मिट २०२३ को आयोजना

आकर्षणका निम्ति ४८ फिट अग्लो पञ्चमुखी गणेश अनावरणको घोषणा

काठमाडौं । अन्नपूर्ण केबलकार पोखराको पर्यटकीय गतिविधिमा थपिएको नयाँ आकर्षण मात्र होइन, सुन्दर नगरी पोखरा जाने प्रत्येक पर्यटकको अनिवार्य गन्तव्य पनि बन्दै गएको छ। यस यात्रालाई अझ रोचक र अविस्मरणीय बनाउन थप आकर्षण र सुविधा थप्ने क्रम जारी छ।
 

यसैक्रममा गन्डोलामा आधारित लिफ्ट ट्रान्सपोर्टेसन प्रणालीकै अग्रणी अन्नपूर्ण केबलकार लिमिटेडद्वारा काठमाडौंको एभरेस्ट होटलमा आफ्नो पार्टनर्स मिट २०२३ को आयोजना गरेको छ । कार्यक्रममा देशका प्रखुम ट्राभल एजेन्सीहरूका साथै कम्पनीका बिजनेस पार्टनर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत् कम्पनीले आफ्ना पार्टनर्ससँगको सम्बन्ध थप मजबुत बनाउँदै नयाँ पार्टनर्सलाई पोखराका साथै देशकै पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहकार्यका लागि आमन्त्रण गर्ने जमर्को गरेको हो। साथै कार्यक्रममार्फत् नै कम्पनीले चाँडै ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा अनावरणको घोषणासमेत गरेको छ ।

विसं २०७३ मा स्थापित भई २०७८ फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सेती बगरदेखि सराङकोट जोड्ने २ ओटा स्टेसनका साथ २.२ किलोमिटरको केबलकार प्रणाली सञ्चालन गर्दै आइरहेको छ । प्रणालीमा १७ ओटा गोन्डोला रहेका छन् । तिनले प्रतिघण्टा ५ सय यात्रुलाई सुविधा दिने क्षमता राख्दछ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र आरामदायी केबलकार सेवा प्रदान गर्न अन्नपूर्ण केबलकार समर्पित रहेको कम्पनीले बताएको छ । केबलकारले साइक्लिङ, जिप लाइनिङ, बन्जी जम्पिङ, स्विङ, रक क्लाइम्बिङ, क्यानोइङलगायत रोमाञ्चक खेलको मनोरञ्जन लिने सुविधा पनि आफ्नो प्राङ्गणमै उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले कफी सप, रेस्टुराँ, बार, एम्युजमेन्ट सेन्टर, भर्चुअल गेमिङ सेन्टर लगायत सुविधा पनि आफ्ना टप तथा बटम स्टेसनमार्फत् उपलब्ध गराउने उद्देश्य राखेको छ। यीमध्ये कम्पनीले केही सेवा तथा सुविधा उपलब्ध गराउन आरम्भ गरिसकेको छ ।

अन्नपूर्ण केबलकारले आफ्ना पाहुनाको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। यसका लागि कम्पनीले निप्पोन केबल कम्पनी लिमिटेड, जापानद्वारा प्रदान गरेको सुरक्षा मापदण्डको विशेष रुपमा पालना गर्ने गरेको छ । यसका लागि कम्पनीले नियमित रुपमा प्राविधिक तथा सरसफाइ निरीक्षण अपनाउने गरेको छ । कम्पनीमा यात्रुहरुको उच्च सुरक्षा तथा तिनको समग्र सन्तुष्टि सुनिस्चितताका लागि हाल ८० भन्दा बढी दक्ष तथा अर्ध-दक्ष मानव संसाधन कार्यरत छन् ।

अन्नपूर्ण केबल कारले पोखरालाई प्रिमियर पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै यहाँको आर्थिक सम्मुन्नतिको उद्देश्य बोकेको छ । इमान्दारी, सुरक्षा, राम्रो आचरण, स्वच्छता, स्वास्थ्य मापदण्ड लगायत आफ्ना मूलभूत मान्यतामा अडिग रहँदै सबैप्रति उच्च आदर र सम्मानीत व्यवहार प्रदर्शन गर्नु कम्पनीको प्रमुख प्राथमिकताका राखिएको अध्यक्ष कालु गुरुङको भनाइ छ ।

“कार्यक्रमले हाम्रा विद्यमान साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ साझेदारहरुलाई स्वागत गर्ने महोत्सवका रुपमा हामीलाई सघाएको छ,” पार्टनर्स मिटमा बोल्दै अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङले भने, “यो सहकार्यले पोखराको मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुऱ्याउने ह्यम्रो विश्वास छ।"
 

त्यसैगरी अन्नपूर्ण केबल कारका स्वतन्त्र निर्देशक सनत न्यौपानेले कार्यक्रम पोखराका साथै समग्र नेपालको पर्यटन क्षेत्रको उत्थानका लागि प्रयत्नरत समस्त मानिसहरूको एक्यबद्धताका लागि निमन्त्रणाका रूपमा रहेको बताए। “कार्यक्रमले सबै सरोकारवालाहरुलाई एकताको सूत्रमा बाँध्दै पोखराका साथै नेपाललाई नै एक प्रिमियर पर्यटकिय गणतव्यका रुपमा स्थापित गर्न सहकार्यका लागि अनुरोध तथा प्रोत्साहन प्रदान गर्ने उद्देश्य बोकेको छ”, उनले भने ।