कान्तिपुर मिडिया गु्रपलाई महासंघको चुनौति, ‘आरोप पुष्टि गरेर देखाउ ’
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघ विरुद्ध लगाइएको आरोप पुष्टि गरेर देखाउन कान्तिपुर मिडिया ग्रुपलाई चुनौति दिएको छ ।
महासंघको बैठकले पत्रकारमाथि मिडिया ग्रुपले गरेको गैरकानुनी निष्काषन र व्यवहार विरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ ।
‘नेपाल पत्रकार महासंघलाई गम्भीर लाञ्छना लगाएर कान्तिपुर मिडिया गु्रपले निकालेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा लगाइएका विभिन्न आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघ चुनौती दिन्छ ।गैरकानूनी तवरबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअधि कान्तिपुरको सम्पादकीय स्वतन्त्रता माथि उठाएको प्रश्नलाई पुष्टि गरेको छ । महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।’
महासंघले निष्कासित पत्रकारलाई श्रम ऐन अन्र्तगत सेवा सुविधा उपलब्ध नगराए पत्रकारको पक्षमा काम गर्ने अन्र्तराष्ट्रिय संघ र निकायमा उक्त विषयलाई लैजाने चेतावनी दिएको छ ।
बैठकपछि जारी महासचिव रोसन पुरीले भने,‘अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेलगायत श्रम आन्दोलनको पक्षमा रहेका अन्तर्राष्ट्रिय संघ संस्थालाई कान्तिपुर मिडिया ग्रुपले गरेको गैरकानूनी कार्यको जानकारी गराउने तथा राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलजी, संयुक्त राष्ट्रसंघलगायत सँग पनि श्रम अधिकारका विषयमा छलफल गर्ने निर्णय गरेका छौं।’
महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा आज बसेको महासंघको केन्द्रीय समिति बैठकले जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको भूकम्प पीडितलाई सहयोग गर्ने देखि कान्तिपुर मिडिया गु्रप र पत्रकारबीचको लामो समयबाट नसुल्झिएको समस्याबारे सात बुँदे निणर्य गरेको हो ।
महासंघले तत्काल कान्तिपुरकर्मी पीडित पत्रकारको समस्या कानून सम्मत समाधान गर्न ध्यानाकर्षण गराएको छ । साथै महासंघले कोभिड महामारीको समयमा सरकारले दिएको मिडिया सहुलियत कर्जा मिडियामै लगानी गरेको वा अन्य क्षेत्रमा गरेको भन्ने स्पष्ट पार्न कान्तिपुर व्यवस्थापकलाई ध्यानाकर्षण गराएको छ ।
बैठकको निर्णय सुनाउँदै रोसन पुरीले भने,‘कोरोना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण मिडिया उद्योग र पत्रकारमा परेको असर न्यूनिकरण गर्न महासंघकै अगुवाइमा सरकारले ल्याएको मिडियामा सहुलियत कर्जा कान्तिपुर मिडिया ग्रुपले सबैभन्दा धेरै लिएको कुरा व्यवस्थापनलाई जानकारी नै होला । उक्त कर्जा मिडियामै लगानी भएको छ वा अन्य व्यवसायमा भन्ने कुराको जानकारी दिन महासंघ व्यवस्थापनको ध्यानाकर्षण गराउदछ । वर्षौंसम्म पसिना बगाएका पत्रकारलाई संस्थाबाट विदा हुने बेलामा कानूनले दिएको सुविधा देऊ भन्दा विभिन्न आरोप र अपमान गर्ने कार्य अत्यन्त निन्दनीय छ ।’
यस्तै कान्तिपुर मिडिया ग्रुपका सञ्चारमाध्यमहरूले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित गरेको समाचार विरुद्ध महासंघ प्रेस काउन्सिल जाने निर्णय भएको छ ।
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौती…
शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी
प्रतिक्रिया