शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासङ्घ
काठमाडौँ, २६ असोज : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा महासङ्घको अनामनगरस्थित कार्यालयमा आज आयोजित बालिकालाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले संविधानले विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्नुभयो । नेपाल शिक्षक महासङ्घलगायतले स्थानीय तहको मातहतमा आफू बस्न अनिच्छा गर्दै आएका छन् ।
गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयक यही असोज २५ गतेको बैठकले दफाबार छलफलका लागि शिक्षा हेर्ने समितिमा पठाएको छ । अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानतः एकल अधिकार हामीले पाएको सवालमा कुनै कानुन बनाएर त्यसलाई खुम्च्याउन मिल्दैन ।
साझा अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा सङ्घीय सरकारले कानुन बनाउनुपर्छ । कानुनी सहजता भएमा जनताका घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागू गराउन हामी प्रतिबद्ध छौँ ।” छात्राहरू सक्षम भएमा मात्रै देश बन्ने बताउँदै उहाँले कक्षा १० सम्म निःशुल्क शिक्षा दिलाउन र बालिकाहरूको बढ्दो कक्षा छाड्ने प्रवृत्ति घटाउन प्राप्त स्रोत र साधनका आधारमा स्थानीय तहले पहल गरिरहेको जनाउनुभयो ।
कार्यक्रममा अध्यक्ष पाण्डेले किशोरीहरूलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव हासिल गराउन प्रतिकात्मकरूपमा धनुषाकी बालिका मनिषा पण्डितलाई एक दिनका लागि आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।
सहभागी बालिकाहरूले आफूहरूका लागि लगानी बढाइ बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर उचित वातावरण र शिक्षा दिन आग्रह गरेका थिए । सिजपका महासचिव तिलोत्तम पौडेलले बालअधिकारको व्यवहारिक अनुभूति दिलाउँदै किशोरीहरूलाई अवसर दिइए नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिनखोजिएको बताउनुभयो । हरेक अक्टोबर ११ मा बालिका दिवस मनाइन्छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया