लुम्बिनी प्रदेशसभामा छ विषयगत समिति गठन

काठमाडाैँ। लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले विभिन्न छवटा विषयगत समिति गठन गरेको छ । लामो समयदेखि विषयगत समिति गठन हुनसकेको थिएन ।

दोस्रो अधिवेशनको १९औँ बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनयन गरेपछि पारित पनि भएको थियो । प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२, अर्थ उद्योग तथा पर्यटन समितिमा १२, भौतिक पूर्वाधार विकास समितिमा १४, प्रदेश मामिला तथा कानुन समितिमा १२, सामाजिक विकास समितिमा १२ र कृषि वन तथा वातावरण समितिमा १५ जना सदस्य रहने छन् ।

ती सदस्यमध्येबाटै समितिको नेतृत्व चयन हुनेछ । साथै बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले सो विधेयक प्रदेशसभामा पेस गर्नुभएको हो ।

त्यस्तै स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्नुभएको थियो ।

संशोधन विधेयकमाथि आजकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ । संशोधन विधेयकमाथि प्रदेशसभा सदस्य लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले सुझाव राख्नुभएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेशसभामा पेस गरेको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता भएको छ ।

प्रदेशसभामा छलफलमै प्रवेश नगरी रोकिएको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट सरकारका प्रवक्ता सन्तोष पाण्डेयले फिर्ता लिनुभएको हो । यसमा गहन अध्ययनपछि मात्रै पुनः पेस गर्ने उहाँले बताउनुभयो । प्रदेशसभा अर्को बैठक साउन ८ गते बस्नेछ ।