‘राप्ती निर्माण अभियान’

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

“राजधानी पनि हाम्रै पालिकामा छ”, उहाँले भन्नुभयो, “त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो । ”

पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उहाँले बताउनुभयो । सामाजिक अराजकता रोक्नका लागि सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उहाँको भनाइ छ ।

हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेकोसमेत उहाँले बताउनुभयो । पूर्वाधार विकास मात्रै नभई चेतनास्तर वृद्धिका लागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ ।