बझाङमा खस्यो ५ हजार मत : उपनिर्वाचन

बझाङमा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म ८ प्रतिशत मत खसेको छ।

 अहिलेसम्म ५ हजार मत खसेको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए। बझाङ प्रदेशसभा निर्वाचन  (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका उनले बताए।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनको भनाइ छ। शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान १०:४० बजेसम्म सबैतिर शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको छ। उपनिर्वाचनमा ११ दल चुनावी मैदानमा छन्।