इलाम -२ र बझाङ मा मतदान सुरु

उपनिर्वाचन

इलाम -२ प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। 

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

४२ वडा रहेको इलाम क्षेत्र नम्बर -२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन् । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ । 

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् । 

निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५ सय ४९ पुरुष र ३० हजार १ सय ९९ महिला गरी कुल ६१ हजार ७ सय ४८ मतदाताले मतदान गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने बताए ।