मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी

काठमाडाै। १४ वैशाख :  पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ ।  

उहाँले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिनुभएको हो । उमेरले ५० वर्ष पूरा हुनुभएका खनालले हेटौँडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिनुभएको हो । उहाँ विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुग्नुभएको थियो ।

उहाँले अब पढाइलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो , “मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हूँ ।” उहाँको जेठो छोरा सिभिल इञ्जिनीयर छन् र कान्छो छोरा विएस्सी सकेर बसेका छन् ।  

वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गर्नुभएको थियो ।  विसं २०५६ मा प्रवेशिका परीक्षा पास गर्नुभएका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाड्नुभएको थियो ।  

उहाँले भन्नुभयो ,“विसं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु । ” दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्छ । राजनीतिकसँगै सामाजिक कार्यमा क्रियाशील रहनुभएका खनाल मनहरीमा लोकप्रिय नेता हुनुहुन्छ ।