अकूत सम्पत्तिका अभियुक्त नासु झासमेत सबैलाई सफाइ

१० वैशाख, काठमाडौं जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा गणपति झासमेत पाँच जनाले सफाइ पाएका छन् । झाका साथै उनका तीन छोराहरु र श्रीमती मीनादेवीलाई पनि विशेष अदातलले सफाइ दिएको हो । 

विशेष अदालतले आइतबार गरेको फैसलामा झाका छोराहरु दिवाकर, शिवाकर र करुणाकरलाई पनि सफाइ दिइएको जनाइएको छ । झाले आफूले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनीहरुका नाममा राखेको दाबी अभियोगपत्रमा थियो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झामाथि ८ असार २०७९ मा मुद्दा दायर गरेको थियो । 

झा २०३९ को मंसिरदेखि सरकारी सेवामा कार्यरत थिए । उनले विभिन्न कार्यालयका विभिन्न पदमा रही २०७८ को साउनबाट अनिवार्य अवकाश पाएका थिए । 

उक्त अवधिमा झाले दुई करोड ४२ लाख रुपैयाँभन्दा बढी वैधरुपमा आय गरेको देखिएको थियो भने चार करोड ८७ लाख रुपैयाँ लगानी, खर्च तथा सम्पत्ति रहेको भेटिएको थियो । जसपछि स्रोत नखुलेको रकमलाई बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।