तिहारबाट सुरु भएको त्यो विवादले होलीकाे साँझमा लियाे दुई युवकको ज्यान ?

ढोलाहिटी घटना

गत चैत ११ गते राति ललितपुरको ढोलाहिटीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा ‘क्षणिक आवेग’ मुख्य कारण रहेको खुलेको छ। ढोलाहिटीमा रहेको डी पोपिना नामक खाजा घरमा मदिरा सेवन गरिरहेका युवाहरुबीच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा २ जनाको ज्यान गएको थियो। चुक्कु प्रहार गर्ने व्यक्ति खाजा घरका सञ्चालक विजय राई रहेका प्रहरी अनुसन्धानबाट खुलेको छ। 

डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो।उक्त घटनाकाे अनुसन्धान टुंग्याएर जिल्ला अदालत ललितपुरमा अभियोग पत्र दायर गरिसकिएको छ। 

होलीको त्यो साँझ के भयाे?
गत चैत ११ गते होली पर्वको दिन थियो। करिब बेलुकाको ८ बजेको समयमा  ललितपुरको ढोलाहिटी, राजकुलोमा रहेको डी–पपिना होटलमा पुजन राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई, प्रदीप राई, राजु गुरूङ र विजय राई बियर खाएर बसिरहेका थिए। 

उनीहरूले ६-७ बोतल गोर्खा स्ट्रङ बियर खाएर रमाइलो गरिरहेका थिए। जीवन भन्ने सुशील राई पनि त्यहीँ थिए। तर उनले बियर नखाई गफ सुनिरहेका थिए। 

त्यहीबेला बाहिरबाटै मादक पदार्थ सेवन गरी छेन्विहाङ राईसहित उनका साथीहरू विराट राई, नाम्नुहाङ राई र अनन्त राई होटलमा पुगे। अनि, उनीहरूले सोधे, ‘साहिल श्रेष्ठ खोइ?’साहिल त्यहाँ थिएनन्। 

साहिललाई नभेटेपछि रक्सी मगाए। उनीहरू बाहिरै रक्सी खाएर मातिसकेकाले होटल सञ्चालक विजयले रक्सी छैन भनेर दिएनन्। छेन्विहाङले त्यसपछि विगतमा साहिल श्रेष्ठसँग मनमुटाव भएको विषय उठाए। विशाल हाङ मुकारुङ राईसँग उनको त्यही विषयमा झगडा सुरु भयो। 

त्यसपछि विजय र सुशीलले दुवै जनालाई सम्झाईबुझाई गरी होटलबाट बाहिर निकाले। केही परसम्म पठाएर उनीहरू होटलमै फर्किए। 
विशाल हाङ मुकारुङ राई, सुलभ राई, जीवन भन्ने सुशील राई, प्रदीप राई, पुजन राई, राजु गुरुङ र विजय होटलको सटर बन्द गरेर भित्र बसिरहेका थिए। 

त्यसपछि पसलको हिसाबकिताब गरिरहेको विजयले बयानमा बताएका छन्। सोही होटलमा काम गर्ने सोनु राईचाहिँ सटर बन्द गरेर घर गइसकेकी थिइन्।

बेलुका करिब पौने १० बजेतिर बाहिरबाट ठूल्ठूलो स्वरमा कराउँदै होटलको बन्द सटर खोलेर रेवश राई, छेङविहाङ राई, विराट राई, नाम्नु हाङ राई र अनन्त राई भित्र पसे। 

रेवशले भने, ‘मेरा भाइहरूलाई हेपेर, होच्याएर कुरा गर्ने को हो?’रेवशलाई विशालले सम्झाउन खोजे। तर रेवश उनीमाथि नै जाइलागे। सुलभ र विजयले पनि सम्झाएर पठाउन खोजे। रेवश मानेनन्। आफ्ना भाइहरूलाई रक्सी नदिएको र हेपेको भन्दै उनी अझै आक्रोशित भए। 

रेवशले हातपात गर्न थालेपछि आफू भित्र भान्सामा गएर चक्कु लिएर आएको विजयले बयान दिएका छन्। ‘रेवश राईलाई हान्न भनी बाहिर निस्कँदै गर्दा उक्त होटलको ढोकानजिकै बसिरहेको साथी पुजन राई, सुलभ राई र विशाल राईले मलाई रोक्ने प्रयास गरेपछि साथीहरूलाई मैले धकेल्दै हुत्याउँदै अगाडि बढ्न खोज्दा मैले बोकेको चक्कुले पुजन राईको बायाँ तिघ्रामा गहिरो चोट लाग्न पुग्यो। ऊ सोही ठाउँमा ढलेपछि सुलभ राई समेतका साथीहरूले होटलको काउन्टरमा रहेको कुर्सीमा लगी राखेको थियो,’ विजयले बयानमा भनेका छन्। 

त्यसपछि झन् आक्रोशित हुँदै विजय बाहिर निस्कँदा होटलबाहिर रेवशलगायत उनको समूह अगाडि सडकमै हल्ला गरिरहेका थिए।विजय बाहिर निस्किएपछि रेवश उनलाई आक्रमण गर्न अघि बढे। त्यसपछि विजयले आफ्नो हातमा भएको चक्कले रेवशलाई प्रहार गरे। छातीमा चक्क लागेपछि रेवश बाटोमै ढले। 

त्यतिबेला होटलभित्र रहेका घाइते पुजन राईभन्दा बाहेक सबै जना बाहिर निस्किसकेका थिए। रेवश ढलेपछि भने आफूलाई एकदमै डर लागेको र चक्कु त्यहीँ फ्याँकेर राजु गुरुङलाई आफ्नो बुलेट मोटरसाइकलको चाबी दिँदै मोटरसाइकलको पछाडि बसेर विजय भागेका थिए।

त्यसपछि उनीहरू ललितपुरको ग्वार्कोमा पुगेर केहीबेर बसे। त्यहाँबाट साम्पाङ चोकमा गएर विजयका मामा नाता पर्ने नविन राईको कोठामा गएर राजु र विजय सुते। उनीहरुलाई त्यतिबेलासम्म पुजन र रेवशको मृत्यु भइसकेको भने थाहै थिएन। तर प्रहरी खोज्दै पुग्यो र विजयलाई नियन्त्रणमा लियो। उनलाई भगाउने राजुले भने पछि आत्मसमर्पण गरेका थिए। 

यस्तो छ विवादको कारण
यी दुई समूहको विवाद भने गएको तिहारबाट सुरु भएको थियो। तिहारको बेला  ढोलाहिटीमा छेङविहाङ नाचिरहेका बेला साहिल श्रेष्ठले उनलाई तानेर एकान्तमा लगे। अनि उनले भने, ‘ए भाइ, तिमी अलि ओभर भएका छौ, विचार गर।’

यसपछि छेङविहाङलाई साहिलले आफूलाई हेपेको र अपमान गरेको लागिरहेको थियो। करिब ३ महिनाअगाडि विशाल चोक नख्खिपोटस्थित किम्ची रेस्टुराँमा अर्को लफडा भयो।

साहिल श्रेष्ठको समूह मदिरा सेवन गरिरहेको थियो। छेङविहाङ लगायतका व्यक्तिहरू त्यहाँ पुगेर सबैसँग हात मिलाए। साहिल श्रेष्ठसँग हात मिलाइसकेपछि अनुहारमा पनि हात लगेर जिस्क्याए। त्यतिबेला पनि साहिलले छेङविहाङलाई ‘ए भाइ, तँ यता आइज। तँ बढी भएको?’ भन्दै थर्काएका थिए। 

‘दाइ, मैले जिस्केर तपाईँको अनुहारमा हात लगेको हो,’ भन्दै जवाफ दिए छेङविहाङले।यी घटनाले दुई समूहबीचमा कलह बढाइरहेको थियो। विशालले त्यतिबेला साहिलको पक्ष लिएको भन्दै छेङविहाङ उनीसँग पनि रिसाएका थिए। 

जहिल्यै साहिलकै पक्ष लिएको भन्दै ‘मचाहिँ भाइ होइन?’ भन्दै गुनासो पनि गरेका थिए। तर साहिलसँग विवाद हुनुमा छेङविहाङकै गल्ती रहेको विशाललगायतले बताएका छन्। त्यसपछि उनीहरूको पनि चर्काचर्की परेको थियो। त्यस दिन पनि उनीहरूले यही पुरानो कुरा निकाल्दा दुई जनाको ज्यान लिने घटना हुन पुगेको थियो। 

सुरुमा होटलबाट निकालेपछि छेङविहाङले नै रेवशलाई फोन गरेर बोलाएका थिए। आफूहरूलाई होटलमा हेपिएको र रक्सी माग्दा पनि नदिएको गुनासो गरेपछि रेवश उक्त होटलमा पुगेका थिए। 

रेवश ‘पख तिमीहरूलाई हेप्ने केटाहरूसँग म कुरा गर्छु’ भन्दै पुगेका थिए। रेवश गएपछि बाहिर सडकमा रहेका पाँचै जना पुनः होटल फर्किए। त्यसपछि सोही विवाद बढ्दै जाँदा चक्कु प्रहार भयो। 

रेवशलाई लिएर छेङवीहाङ लगायत पाटन अस्पताल पुगेका थिए। प्रहरीले उनीहरुलाई पनि पाटन अस्पतालबाटै राति साढे ३ बजेतिर पक्राउ गरेको थियो। यसरी घटनामा दुई जना मारिएपछि प्रहरीले घाइतेलाई लिएर अस्पताल पुगेकाहरुलाई नै हतकडी लगाएको थियो। सुरुमा सबैलाई पक्राउ गरेको प्रहरीले अहिले तीमध्ये तीन जनालाई मुद्दा चलाएर अरूलाई छाडिदिएको छ। अरू भने घटनापछि फरार भएका थिए। 

कसमाथि के अभियोग?
घटनामा मुख्य प्रतिवादी खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका विजय राईलाई बनाइएको छ। प्रहरीका अनुसार, हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालकसमेत रहेका ३१ वर्षीय विजयले नै दुवै युवकलाई चक्कु प्रहार गरेका थिए। 

यस्तै सोही ठाउँका अर्का होटल सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण भुरचोक घर भई हाल ललितपुर–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय  छेङविहाङ राई र तेह्रथुम म्याङलुङ नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङलाई पनि प्रतिवादी बनाइएको छ। 

विजयलाई आजीवन कैदको माग गरिएको छ। बयानका क्रममा विजयले आफूले रेवशको हत्या गर्नै चक्कु प्रहार गरेको तर आफ्नै साथी पुजनलाई भने झुक्किएर लागेको बताएका छन्। 

जेलबाट छुटेर पुन: जेलमै बस्नुपर्ने अवस्थामा पुगेका विजय
प्रहरीका अनुसार आइतबारको घटनाका मुख्य अभियुक्त मानिसएका विजय राई २०७५ सालमा पनि पक्राउ परेका थिए। त्यतिबेला उनलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको थियो। प्रहरी वृत्त थानकोटको टोलीबाट लागु औषधसहित पक्राउ परेका उनी २ वर्ष जेल बसेका थिए। 

२०७७ सालमा जेलबाट छुटेका विजयले करिब ६ महिना अगाडि मात्रै आफ्ना २ जना साथीसँग मिलेर ढोलाहिटीमा डी पोपिना नामक खाजाघर खोलेका थिए। डी पोपिनाका उनका साझेदारमध्येका १ जना साथी सुलभ राई पनि आइतबारकै हत्या घटनामा मुछिएका छन्। 

सुलभ पनि विजयसँग पक्राउ परेर प्रहरी हिरासतमा छन्। राई नै थरका अर्का सञ्चालक भने घटना भएको दिन काठमाडौं बाहिर थिए। 

प्रहरीको हालसम्मको अनुसन्धानबाट घटनामा विजय नै मुख्य रुपमा जिम्मेवार छन्। २ जनाको ज्यान गएको घटनाको मुख्य अभियुक्तका रुपमा दोषी ठहर भएमा उनले अझै लामो समय जेल बस्नुपर्नेछ।