श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

मोरङको सुन्दरहरैँचामा श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

 सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई शुक्रबार राति पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको हो ।

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर पत्नी मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्रीमतीलाई मारेपछि उनी फरार भएका थिए ।

प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरी रत्नाको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको बताइएको छ । शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना पोस्टमार्टम गरिएको छ ।