पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर घुस लिएको प्रकरणमा पक्राउ

पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालकोसमेत संलग्नता देखिएपछि पक्राउ गरी केन्द्रीय कार्यालय पठाएर अनुसन्धान भइरहेको छ’, शिवाकोटीले भने, ‘रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक पटक लिएको अनुसन्धानबाट देखिएको छ ।’

चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् । सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा समातिएका हुन् ।

पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि उनीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।