खेलकुद मैदान निर्माणको रकम अनियमितता: तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोहिबारे अनुसन्धान गर्दा आर्थिक वर्ष २०७६।०७७ मा डिपिआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब तयार पारेको देखिएको छ । 

त्यस्तै, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई तयार पारी फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । जस कार्यमा आचार्यसहित सोहि कार्यालयका सव–इन्जिनियर मोतिप्रसाद बुढा, खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाही संलग्न रहेको अख्तियारले जनाएको छ । 

उनीहरूसँग जनही ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो माग गरिएको छ । उनीहरू पाँचै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।