काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे

काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन् ।

काठमाडाैंमा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको हो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठ जनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ।

जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो। 

तर कोरोनाका बिरामी भए पनि यो कोरोना भाइरसको पुरानै भेरिन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको बताइएको छ।

यसैबीच चन्द्रागिरि नगर प्राथमिक अस्पतालले हरेक शुक्रबार कोभिड-१९ को खोप सेवा दिने भएको छ । 

अस्पतालबाट जारी सूचना अनुसार प्रत्येक हप्ताको शुक्रबार बिहान १० बजेबाट दिएँसो ३ बजेसम्म कोभिड-१९ को खोप सेवा सुरु हुने भएको हो । १२ वर्ष उमेर माथिका व्यक्तिले सो खोप लिन सक्ने अस्पतालले जनाएको हो ।