धरान घटना अपडेट: घाँटी रेटी हत्या गरिएकी किशोरीको सनाखत

काठमाण्डौँ - धरान उपमहानगरपालिका १८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको सनाखत भएको छ । प्रहरीका अनुसार मृतक धरान १६ कि २१ वर्षीया सुमना श्रेष्ठ रहेकी छिन् । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भीमराज राईका अनुसार हत्यामा संलग्नको पनि पहिचान भइसकेको छ भने प्रहरी परिचालन गरी खोजी कार्य पनि तीव्र पारिएको छ ।

घटनामा एकभन्दा बढीको संलग्नता पाइएको राईले बताए । उनीहरूको खोजीका लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए ।

बुधबार दिउँसो अढाई बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सीमा मृतकको शव भेटिएको थियो। घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो। शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको प्रहरीले जनाएको थियो  ।