प्रिमियरमा 'चित्रा'ले पायो उत्साहजनक प्रतिक्रिया

सोमबार राजधानीमा चलचित्र चित्राको प्रिमियर आयोजना भयो । चित्रा यही शुक्रबार २७ पुसबाट प्रदर्शनमा आउँदै छ । प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारको पनि बाक्लो उपस्थिति देखिएको थियो । फिल्मले प्रिमियरमा उपस्थित सबैबाट राम्रो प्रतिक्रिया पाएको छ ।  

फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैँडालगायत उपस्थित थिए।

बाबु–छोरीको सम्बन्धको कथामा आधारित रहेको फिल्मले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएको छ । फिल्ममा बाबु–छोरीको सम्बन्ध साथै भरपूर एक्सन समेत देखिएको छ । उक्त फिल्म बालबालिकादेखि बुढापाका सबै  दर्शकलाई केद्रित गर्ने कथावस्तु भएको फिल्मका मुख्य पात्र सन्तोष अधिकारीले जनाएका छन् ।
  
विशेषगरी सिम्रन खड्काको अभिनयको फिल्मकर्मीले प्रशंसा गरे । छोरीको भूमिकामा रहेकी खड्काको अभिनयले बढी प्रशंसा पाएको हो । मुख्य पात्र सन्तोष अधिकारीको यो डेब्यु फिल्म भए तापनि उनको अभिनयले पनि निकै चर्चा कमाएको छ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले त सन्तोष अधिकारीको काम डेब्यु अभिनेताको जस्तो नभई काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए ।

 

आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्ममा शुभेच्छा खड्का, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, विनोद कुमार पौड्याल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज शिवाकोटीको संगीत छ भने मनीष गौतमको पटकथा एवं संवाद छ ।

उक्त प्रिमियरले फिल्मको अन्तिममा ‘चित्रा सिक्वेल २’को संकेत दिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा यो रहस्य खुलेको हो । धेरै फिल्महरू व्यावसायिक रूपमा राम्रो भएपछि त्यसको सिक्वेल आउने गर्छ । तर, चित्राले भने फिल्म बजारमा जानु र नतिजा न आउनुअघि नै अर्को सिक्वेलको घोषणा गरेको हो । 

 

सिक्वेलका लागि कथा बाँकी राख्दै फिल्मको अन्त्यमा ‘चित्रा २’ भनेर उल्लेख गरिएको छ । फिल्मलाई जसरी टुंग्याइएको छ, त्यसले सिक्वेलमा केही कलाकारलाई निरन्तरता दिइने संकेत गर्छ ।