‘निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्छ’

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले न्याय र निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्ने बताउनुभएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमन्त्री यादवले असल मानिसको रक्षा र खराबलाई दण्डीत गर्नु प्रहरीको आदर्श हुनुपर्ने बताउनुभयो । 

“मलाई थाहा छ तपाईंहरु कम स्रोत साधन र घामपानी नभनी नागरिकको सेवामा खटिरहनुभएको छ । नागरिकको पहिलो भरोसा नै तपाईंहरु नै हो, त्यसैले कुनै पनि निर्दोष मानिस र सिङ्गो समाजले सधैँ सम्झिने गरी काम गर्नुहोस्”, मुख्यमन्त्री यादवले भन्नुभयो । 

देश बनाउने जिम्मा राजनीतिज्ञको मात्र नभई प्रहरी प्रशासनलगायत सबैको साझा उद्देश्य भएकाले सबैले आफ्नो दायित्वमा कटिबद्ध हुनुपर्ने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार यस्ता कार्यका लागि सधैँ साथमा रहने बताउनुभयो । उहाँले मधेस प्रदेशको आवश्यकता र संवेदनशीलतालाई ख्याल गर्दै काम गर्न पनि अपिल गर्नुभयो । 

मुख्यमन्त्री यादवले भन्नुभयो, “मधेस प्रदेशमा विद्यमान समस्याका बारेमा तपाईंहरु अझबढी जानकार हुनुहुन्छ । यहाँको शान्ति सुव्यवस्था, अमन चयन, विकास र सुशासनका लागि यस प्रदेशमा विशेष जोड दिन चाहन्छु ।”

कार्यक्रममा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप र अवरोधको सामना गर्नुपरे पनि कानुनसम्मत ढङ्गले अगाडि बढ्न प्रहरीलाई आग्रह गर्नुभयो । 

त्यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासलाई कायम राख्दै आफूहरु सधैँ जनसेवामा समर्पित रहेको बताउनुभयो । उहाँले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाहका क्रममा सहिद भएका अमर प्रहरीप्रति उच्च सम्मान प्रकट गर्नुभयो । त्यसअवसरमा सहिद परिवारलाई सम्मान र प्रहरीका सन्ततिलाई पुरस्कृतसमेत गरिएको थियो ।