राप्रपाको घिनलाग्दो हर्कत,एकातर्फ प्रदेश खारेजका लागि आन्दोलन,अर्काेतर्फ सभामुखमा दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकबाट हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीका लागि आन्दोलनमा जाने निर्णय गर्यो।

पार्टीको केन्द्रीय कार्यसमितिले आन्दोलनको घोषणा गरेका बेला राप्रपाले कोशीमा भने रिक्त रहेको सभामुख पद लिने भएको हो। प्रदेशका सांसद अम्बरबहादुर विष्ट प्रदेश सभामा संघीयताविरोधी अभिव्यक्ति दिने मध्येका एक हुन्।

तर राप्रपाले सभामुखका लागि प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टको नाम अघि सारेको छ। तर, औपचारिक निर्णय गरिसकेको छैन। एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

राजनीतिक समीकरणमा तत्कालै कुनै नाटकीय फेरबदल नआए एक सातामा विष्ट कोशीको सभामुख हुनेछन्, त्यसको बदलामा राप्रपा प्रदेशमा सत्ता गठबन्धनमा सामेल हुनेछ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गत साउन १६ गतेदेखि कोशी प्रदेश सभामुखविहीन छ। पदबाट राजीनामा दिएर गौतमले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनबाट मुख्यमन्त्री बन्न सहयोग गरेका थिए। उनको राजीनामापछि कोशीमा सभामुख चयन प्रक्रिया अघि बढ्न सकेको छैन। 

९३ सदस्यीय रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ। वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन्। यस अंकगणितको खेलसँगै कोशीमा राप्रपाले यसअघि पनि सरकारमा भाग लिँदै बाहिरिँदै गर्दै आइरहेको छ।

उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आइरहेकी छन्। अबको एक साताभित्रमा सभामुख चयन गरिसक्ने तयारी दलहरूको छ। तर, निर्वाचनको मिति भने तय भइसकेको छैन। कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो।

राप्रपाले प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरे पनि बागमती प्रदेशमा यसअघि नै सभामुख लिसकेको छ।