खोप चाँडै आपूर्ति गर्ने सेरमको स्पष्टोक्ति, लिक्विड अक्सिजन पनि भोलि नेपाल आइपुग्दै

पहिले विभिन्न कारणले अवरुद्ध भएको खोप आपूर्ति अब सुचारु हुने भारतले जनाएको छ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति हुने आशयको जवाफ दिएको दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले शुक्रबार जानकारी दिए ।

‘उहाँहरुले खोप आपूर्ति चाँडै हुने कुरामा सकारात्मक जवाफ दिनुभएको छ र हाम्रो पहल पनि जारी छ’ आचार्यले भने, ‘भारतले विहिबार मात्र लिक्विड अक्सिजनको निर्यातमा लगाएको रोक खुला गरेको छ । हामी खोप आपूर्ति चाँडै हुनेमा आशावादी छौं ।’ खोप लगायतका अन्य स्वास्थ्य सामाग्रीको आपूर्तिको लागि पनि दूतावासले भारतीय निकायलाई पहल गरिरहेको समेत राजदूत आचार्यले जानकारी दिए । भारतले नेपाललाई भुक्तानीबापत १० लाख डोज कोभिसिल्ड खोप दिन बाँकी छ ।

यसैबीच, भारतले अक्सिजन निर्यात फुुकुवा गरेलगत्तै भोलि शनिबार दुईवटा ट्यांकरमा ३० टन लिक्विड अक्सिजन नेपाल आइपुग्ने भएको छ । यो परिमाणको अक्सिजनले १ लाख ८० हजार भन्दा बढी सिलिन्डर भर्न मिल्ने जनाइएको छ ।